बाँके–२ मा चुनावी माहोल तात्यो : जसपाका कमरुद्दिन राईले भने– “यो चुनाव होइन, राजनीतिक युद्ध हो”

बाँके क्षेत्र नम्बर २ को चुनावी मैदानमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का उम्मेदवार कमरुद्दिन राईले चुनावी प्रतिस्पर्धालाई सामान्य निर्वाचन प्रक्रिया नभई प्रत्यक्ष राजनीतिक युद्धको रूपमा चित्रण गरेका छन्। पछिल्लो समय चुनावी गतिविधि तीव्र बन्दै जाँदा राईले आफ्ना भाषण तथा भेटघाट कार्यक्रममा कडा र आक्रामक शैली अपनाउँदै जनतालाई निर्णायक लडाइँका लागि तयार रहन आग्रह गरेका छन्।

उम्मेदवार राईले बाँके–२ को चुनावलाई केवल मत माग्ने अभियान नभई पुराना राजनीतिक प्रवृत्तिविरुद्धको निर्णायक संघर्ष भन्दै मतदातालाई एकजुट हुन आह्वान गरेका छन्। “यो चुनाव केवल जित–हारको खेल होइन, यो अन्याय, भ्रष्टाचार र दलाल राजनीतिविरुद्धको युद्ध हो,” भन्दै उनले जनता स्वयं निर्णायक शक्ति भएको बताएका छन्।

चुनावी प्रचार–प्रसारका क्रममा राईले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा किसानका मुद्दा प्राथमिकतामा राख्दै आफू जितेपछि बाँके–२ लाई परिवर्तनको मार्गमा लैजाने दाबी गरेका छन्। उनका समर्थकहरूका अनुसार पछिल्लो समय क्षेत्रका विभिन्न बस्ती तथा गाउँहरूमा जसपाप्रति आकर्षण बढ्दो क्रममा छ।

यता राजनीतिक विश्लेषकहरू भने बाँके–२ को चुनावलाई उच्च प्रतिस्पर्धात्मक मान्दै सबै दलहरूले यो क्षेत्रलाई प्रतिष्ठाको विषय बनाएको बताउँछन्। जसपा उम्मेदवार राईले चुनावलाई युद्धको रूपमा प्रस्तुत गरेपछि बाँके–२ को चुनावी मैदान थप तातो र चर्को बन्दै गएको छ।

अब बाँके–२ मा मतदाताले कसलाई जितको माला पहिर्याउँछन् भन्ने चासो बढ्दै गएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर