नेपालगन्ज : बिरामीको उपचारका लागि बनाइएको सरकारी अस्पताल, तर भेरी अस्पतालको अर्थोपेडिक वार्डअन्तर्गत रहेको ‘१ नम्बर क्याविन’ यतिबेला उपचार कक्षभन्दा बढी राजनीतिक कमाण्ड सेन्टर बनेको छ।
बाँके क्षेत्र नम्बर २ को आसन्न प्रतिनिधि सभा निर्वाचनमा कसलाई जिताउने, कसलाई हराउने भन्ने रणनीति यही क्याविनबाट तय भइरहेको छ।
यो रणनीतिका सूत्रधार अरू कोही होइनन्— अर्बौं रुपैयाँ अपचलन मुद्दाका मुख्य अभियुक्त तथा एमालेका पूर्व केन्द्रीय सदस्य पशुपति दयाल मिश्र।
उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासबाट पुर्पक्षका लागि कारागार चलान भएका मिश्र स्वास्थ्यको बहाना बनाएर पटक–पटक अस्पताललाई सुरक्षित राजनीतिक आश्रयस्थल बनाउँदै आएका छन्। पछिल्लो पटक ‘ढाड दुख्यो’ भन्दै माघ १४ गतेदेखि उनी भेरी अस्पतालको १ नम्बर क्याविनमा डेरा जमाएर बसेका छन्।
“उहाँलाई एक हप्ता भन्दा बढी भर्ना राख्नुपर्ने कुनै गम्भीर स्वास्थ्य समस्या छैन।”
कैदी, तर खुला राजनीति
अस्पतालको क्याविनभित्र उपचारभन्दा बढी राजनीतिक बैठक, कार्यकर्ता परिचालन र निर्वाचन रणनीति चलिरहेको स्वास्थ्यकर्मीहरू बताउँछन्। मोबाइल फोनमार्फत नेता–कार्यकर्ता बोलाउने, क्याविनमै बैठक बस्ने र वडास्तरको चुनावी योजना बनाउने काम खुलेआम भइरहेको छ।
पत्रकार टोलीले प्रत्यक्ष रूपमा मिश्रलाई क्याविनमै कार्यकर्तासँग छलफल गर्दै सुनेको छ—
“क्षेत्र नम्बर २ मा हाम्रो उम्मेदवारलाई जिताउन सबै परिचालित भएर लाग्नुपर्छ।”कानुन सबैका लागि बराबर होइन ?
कानुनी क्षेत्रका अगुवा वरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठ भन्छन्—“पुर्पक्षका लागि थुनामा रहेका व्यक्तिले उपचारको निहुँमा अस्पताल बसेर राजनीतिक गतिविधि गर्न पाउँदैनन्। यो कानुनको ठाडो उल्लंघन हो।”
किन शक्तिशाली अभियुक्तलाई सुविधा, र गरिब कैदीलाई उपचार पनि नपाइने राजनीतिक मिलेमतोको गन्ध स्वास्थ्यकर्मीका अनुसार यस्तो खुला गतिविधि सम्भव हुनुमा राजनीतिक शक्ति केन्द्र, प्रशासन, सुरक्षा निकाय र अस्पताल प्रशासनको मौन सहमति देखिन्छ।
कारागार प्रशासनले चेतावनी दिएको दाबी गरे पनि व्यवहारमा कुनै कडाइ देखिँदैन।
भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदी भने अनभिज्ञता देखाउँदै भन्छन्—
“उहाँ उपचारका लागि आउनुभएको हो, अरू गतिविधिबारे मलाई थाहा छैन।”
हारको इतिहास, तर प्रभावको निरन्तरता
२०७४ मा प्रतिनिधि सभा र २०७९ मा नेपालगन्ज उपमहानगरको मेयर चुनावमा पराजित मिश्र यसपटक उम्मेदवार बन्न नपाए पनि पार्टीभित्रको पहुँचका कारण ‘पर्दा पछाडिको खेलाडी’ बनेका छन्।
स्रोतका अनुसार एमालेले औपचारिक रूपमा नभए पनि उनलाई चुनावी रणनीति सम्हाल्ने जिम्मेवारी दिएको छ।
जब सरकारी अस्पताल कैदीका लागि राजनीतिक अखडा बन्छ,जब अभियुक्तले क्याविनबाट चुनाव चलाउँछ,र जब प्रशासन सबै देखेर पनि नदेखेझैँ गर्छ—
त्यसपछि चुनाव कति स्वच्छ रहन्छ ?
कानुन कति विश्वसनीय रहन्छ ?
भेरी अस्पतालको १ नम्बर क्याविन अब उपचार कक्ष
राज्य संयन्त्रको कमजोरी र राजनीतिक संरक्षणको ज्वलन्त प्रतीक बनेको छ।



