फागुन-५ मंगलवार

अनिश शाह

नेपालगन्जका जनताले विश्वासको मत दिएर नेपालगन्ज उप–महानगरपालिकाको उप–प्रमुख बनाएका कमरुद्दिन राई चार वर्षे कार्यकालमा एउटा उदाहरणीय काम देखाउन नसकेको आरोप चर्किंदै गएको छ। ठेला व्यवस्थापनदेखि शिक्षा सुधार, ढल–नाला निर्माण, अतिक्रमण नियन्त्रण, पार्किङ व्यवस्थापन, स्वास्थ्य सेवा सुदृढीकरण र फोहोर व्यवस्थापनसम्म—सबैजसो क्षेत्र अव्यवस्थित र अस्तव्यस्त नै रहे।

२३ वटा वडा रहेको उप–महानगरपालिकामा कम्तीमा एउटा वडालाई नमुना बनाउन नसक्ने नेतृत्व अहिले क्षेत्र नं–२ बनाउने सपना देखाउँदै चुनावी मैदानमा उत्रिएको भन्दै स्थानीयवासी आक्रोशित छन्। “आफ्नै जिम्मेवारीको कार्यालय सम्हाल्न नसक्नेले सिंगो क्षेत्रको विकास कसरी गर्छ?” भन्ने प्रश्न चोक–चोकमा उठ्न थालेको छ।

सडक किनारामा अव्यवस्थित ठेला, वर्षौंदेखि जाम भएका नाला, जथाभावी पार्किङ, सुधारको प्रतीक्षामा रहेको सामुदायिक स्वास्थ्य प्रणाली र थुप्रिँदै गएको फोहोर—यी सबै समस्या चार वर्षसम्म समाधान हुन नसक्नु नेतृत्वको असक्षमता नभएर के हो? जनताले दिएको म्यान्डेटलाई उपलब्धिमा रूपान्तरण गर्न नसक्ने प्रवृत्तिलाई अब मतदाताले गम्भीरतापूर्वक मूल्यांकन गर्ने संकेत देखिएको छ।

विश्वासको मतलाई अवसर होइन, जिम्मेवारी ठान्नुपर्ने पदलाई केवल राजनीतिक सिँढी बनाइएको आरोप लागिरहेका बेला क्षेत्र नं–२ का मतदाता सचेत र सजग बन्नुपर्ने आवाज बुलन्द हुँदै गएको छ। अब नाराभन्दा नतिजा खोज्ने समय आएको स्थानीयको स्पष्ट सन्देश छ।

प्रतिक्रिया

सम्बन्धित खवर