नेपालगन्ज, फागुन २ :
बाँके, प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालालाई निर्वाचित गराउन नेपाली कांग्रेसप्रति सर्बसाधारण नागरिकको आर्कषण बढ्दै गएको छ । कांग्रेसबाट नै देश र बाँके जिल्लाले निकास पाउने ठहर गर्दै विभिन्न पार्टी परित्याग गरेका र स्वतन्त्र व्यक्तिहरु कांग्रेसमा प्रवेश गर्न थालेका हुन् । यसैक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ मा शनिबार (आज) ठुलो संख्याका ब्यक्तिहरु कांग्रेसमा प्रवेश गरेका छन् ।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका प्रभावशाली नेताहरु लियाकत खान, अनमर अन्सारी, मुन्ना शेख, आरिफ शेख सहित ३५ जना व्यक्ति कांग्रेसमा प्रवेश गरे । उनीहरुलाई कांग्रेसका तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइराला, नेता मोहम्मद याकुव अन्सारी, हाजी मोहम्मद कादिर अन्सारी, नेपाली कांग्रेस नेपालगन्ज–५ का वडासभापति मेराज हल्वाई लगायतले स्वागत गरेका थिए ।

नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ को प्रचार–प्रसार कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार कोइरालाले सबै जात, धर्म, समुदाय र लिंगलाई समान ब्यवहार गर्ने पार्टी नेपाली कांग्रेस मात्र भएको बताए । पछिल्लो समयमा कतिपयले विभिन्न जात र धर्मको आधारमा राजनीति गरिरहेको देख्दा दुःख लाग्ने गरेको उनले सुनाए । ‘यो स्वर्गिय सुशिल कोइराला लड्ने निर्वाचन क्षेत्र हो, म स्मरण गराउन चाहन्छु, धेरै पार्टीका साथीहरुले जात, धर्म र लिंगको नाममा राजनीति गरेको हामी देख्छौं,’ उम्मेदवार कोइरालाले भने, ‘यो त्यही क्षेत्र हो, जुन क्षेत्रबाट आदरणीय सुशिल कोइरालाले मुस्लिम समुदायका कति साथीहरुलाई सांसद बनाउनुभयो, तर, अरु दललाई हेर्नुस्, धर्मको नाममा राजनीति गर्ने र आफु मात्रै नेता भईराख्ने प्रवृत्ति छ ।’

नेपाली कांग्रेसले बाँके जिल्लाबाट मेराज अहमद साह, मोहम्मदी सिद्धिकी र अब्दुल हमिद सिद्धिकी ‘भोला’ लाई सांसद बनाएर उदाहरण प्रस्तुत गरेको उनले प्रष्ट्याए । आफु नेता नभई सेवक बनेर जनताको काम गर्ने प्रतिवद्धता जनाउँदै उम्मेदवार कोइरालाले भने, ‘म चुनाव जितेपनि, हारेपनि तपाईहरुको सेवक बनेर काम गर्नेछु, तपाईहरुको आर्शिवादले म अगाडी बढ्नेछु ।’ जेन–जी युवाहरुले २००७ सालदेखी हालसम्म नेपाली कांग्रेसले पुर्याएको योगदानलाई अध्ययन गर्न जरुरी रहेको उनले बताए । नव प्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै नेपाली कांग्रेसमा मात्र राजनीतिक भविष्य रहेको कुरा औल्याए ।


नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ का वडा सभापति मेराज हल्वाईको सभापतित्वमा आयोजित उक्त कार्यक्रमलाई नेपाली कांग्रेसकी नेतृ एवम् लुम्बिनी प्रदेश सभाकी सांसद सुशिला नेपाली (वादी), कांग्रेस नेता एवम् लुम्बिनी प्रदेशका पुर्वसांसद मोहम्मद याकुव अन्सारी, कांग्रेस नेता एवम् मुस्लिम अगुवा हाजी मोहम्मद कादिर अन्सारी, पार्टीका महासमिति सदस्य एवम् नेपालगन्ज उपमहानगरपालिकाका पुर्वउपमेयर उमा थापामगर लगायतले उम्मेदवार कोइरालालाई जितको अग्रिम शुभकामना दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर