अनिश शाह
नेपालगन्ज — पछिल्ला केही दिनदेखि नेपालगन्जसहित बाँके जिल्लाका विभिन्न क्षेत्रमा चिसो बढ्दै गएको छ। बिहान र साँझ बाक्लो कुहिरो लाग्ने क्रम तीव्र भएपछि सर्वसाधारणको दैनिक जनजीवन प्रभावित बनेको छ। घाम नलाग्दा चिसो झनै बढेको महसुस गर्न थालिएको स्थानीयवासीहरू बताउँछन्।
बाक्लो कुहिरोका कारण सडक दृश्यता अत्यन्तै कम हुँदा सवारी साधन सञ्चालनमा समस्या देखिएको छ। विशेषगरी बिहानको समयमा मोटरसाइकल, साइकल तथा पैदलयात्रुहरू जोखिममा परिरहेका छन्। मुख्य सडक तथा भित्री सडकहरूमा सवारी साधनहरू बत्ती बालेर चलाउनुपर्ने अवस्था आएको छ भने दुर्घटनाको सम्भावना पनि बढेको छ।
चिसो बढेसँगै बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरू बढी प्रभावित भएका छन्। अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वाससम्बन्धी समस्या लिएर आउने बिरामीको संख्या बढ्दै गएको स्वास्थ्यकर्मीहरू बताउँछन्। चिकित्सकहरूले न्यानो कपडा प्रयोग गर्न, चिसोबाट जोगिन र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।
चिसो र कुहिरोका कारण विद्यालय जाने विद्यार्थीहरूलाई पनि समस्या परेको छ। बिहानै विद्यालय जानुपर्ने विद्यार्थीहरू बाक्लो कुहिरोमा हिँड्न बाध्य भएका छन्। कतिपय विद्यालयहरूमा विद्यार्थीको उपस्थिति घटेको देखिएको छ।
मौसमविद्हरूका अनुसार पश्चिम तराई क्षेत्रमा केही दिनसम्म चिसो र कुहिरो यथावत् रहने सम्भावना छ। त्यसैले अत्यावश्यक कामबाहेक बिहान सबेरै बाहिर ननिस्कन, सवारी चलाउँदा सतर्कता अपनाउन र स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन सबैलाई स्थानीय सरकार नेपालगन्ज उप-महानगरपालिकाले आग्रह गरिएको छ।





