अनिश शाह

नेपालगन्ज — नेपालगन्ज उप–महानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन आज भव्य रूपमा सम्पन्न भएको छ। “समृद्ध शहर, नगरवासीको रहर” भन्ने मूल नाराका साथ आयोजित अधिवेशन नेपालगन्ज सिटी हलमा सम्पन्न भएको हो।

अधिवेशनको उद्घाटन उप–महानगरपालिकाका नगर प्रमुखद्वारा गरिएको थियो। कार्यक्रममा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, नगरसभा सदस्यहरू, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कर्मचारी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नगरसभा अधिवेशनमा चालु आर्थिक वर्षका नीति, कार्यक्रम तथा बजेटको समीक्षा गर्दै आगामी दिनमा नगर विकासलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा विस्तृत छलफल गरिएको छ। शिक्षा, स्वास्थ्य, सरसफाइ, पूर्वाधार विकास, रोजगारी सृजना, शहरी सौन्दर्यकरण तथा सुशासन प्रवर्द्धनका विषयहरूलाई प्राथमिकतामा राख्दै प्रस्तावहरू पेश गरिएका थिए।

नगर प्रमुखले आफ्नो सम्बोधनमा नेपालगन्जलाई व्यवस्थित, स्वच्छ र समृद्ध शहरका रूपमा विकास गर्न नगरपालिकाले निरन्तर प्रयास गरिरहेको उल्लेख गर्नुभयो। उहाँले जनताको आवश्यकता र अपेक्षा अनुसार सेवा प्रवाहलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी उपप्रमुखले नगरसभा जनप्रतिनिधिहरूबीच आपसी समन्वय र सहकार्य आवश्यक रहेको बताउँदै विकास निर्माणका काममा पारदर्शिता र जवाफदेहिता कायम गर्न जोड दिनुभयो।
अधिवेशनमा विभिन्न विधेयक, कार्यविधि र प्रस्तावहरूमाथि छलफल भई आवश्यक निर्णयहरू पारित गरिएको जनाइएको छ।

नगरपालिकाले आगामी दिनमा विकासका योजनाहरूलाई समयमै सम्पन्न गर्दै नगरवासीलाई प्रत्यक्ष लाभ पुग्ने गरी कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर