नेपालगन्ज, बाँके — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वयमा मंगल प्रसाद माध्यमिक विद्यालय, नेपालगन्ज–८ मा आयोजित विज्ञान प्रविधि प्रदर्शनी तथा खेलकुद सप्ताह–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको अन्तिम दिन विद्यालय परिसरमा आयोजना गरिएको पुरस्कार वितरण समारोह विशेष आकर्षण बनेको थियो।

सप्ताहभर चलेको कार्यक्रममा विद्यार्थीहरूले रोबोटिक्स, मोडल विज्ञान, नवीकरणीय ऊर्जा, वातावरण संरक्षण, स्वास्थ्य विज्ञान, साना–साना प्रविधिमूलक आविष्कारहरू लगायतका विषयमा रचनात्मक मोडल र परियोजनाहरू प्रस्तुत गरेका थिए। प्रत्येक कक्षाका विद्यार्थीहरूले सहभागिता जनाउँदै आफ्नो प्रतिभा र सिर्जनशीलता उजागर गरेका थिए। अभिभावक, शिक्षक तथा स्थानीय सरोकारवालाहरूले प्रदर्शनी अवलोकन गर्दै विद्यार्थीहरूको परिश्रम र नवप्रवर्तन क्षमतालाई खुलेर प्रशंसा गरेका थिए।

यससँगै विद्यालयले सञ्चालन गरेको वार्षिकोत्सवस्तरको खेलकुद सप्ताह पनि उत्साहजनक रह्यो। दौड, हाईजम्प, लङजम्प, डिक–थ्रो, रस्साकसी, फुटबल, भलिबल लगायतका विभिन्न प्रतिस्पर्धामा सयौं विद्यार्थीले सहभागिता जनाएका थिए। विद्यालयमै पहिलोपटक एकै साथ विज्ञान तथा खेलकुद गतिविधी भव्य रूपमा सञ्चालन भएपछि विद्यार्थीहरू झनै हौसिएका देखिन्थे।
समापन समारोहमा प्राचार्यलगायत कार्यक्रम संयोजकहरूले उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरे। उनीहरूले विद्यार्थीहरूको निरन्तर प्रगति र प्रतिभा पहिचानका लागि विद्यालयले आगामी वर्षमा अझ व्यापक कार्यक्रम ल्याइने बताउँदै अभिभावक र समुदायको निरन्तर सहयोगको अपेक्षा गरे।

कार्यक्रमले विद्यार्थीहरूलाई विज्ञान र खेलकुदप्रतिको रुचि बढाउनुका साथै टोली भावना, सिर्जनशीलता र नेतृत्व कौशल विकासमा महत्वपूर्ण योगदान दिएको विद्यालयकी प्रिस्पल सन्धिया गुप्ताले जनाएको छ। विद्यालय परिसर आजैको दिन रंगीन ब्यानर, तालियाँ, हर्षोल्लास र विद्यार्थीहरूको मुस्कानले झनै जीवन्त बनेको थियो।



