अनिश शाह
नेपालगन्ज — उपमहानगरपालिकाले एकातिर अपाङ्ग–मैत्री फुटपाथ निर्माण गर्दै शहरी व्यवस्थितिकरणलाई प्राथमिकतामा राखेको बेला, नेपालगन्ज वडा नं ४ मा भने स्थानीय सरकारकै मौनतामा नाला–पेटिका रोड क्रमशः अतिक्रमणमा परिरहेको देखिएको छ।
शहरको मुटु मानिने बि,पि चौक, धम्बोजी आसपासका क्षेत्रमा अहिले अपाङ्गमैत्री फुटपाथ ज तीव्र गतिमा भइरहेको छ। उपमहानगरपालिकाले दैनिक आवत–जावत गर्ने पैदल यात्रु, अपाङ्गता भएका नागरिक, विद्यार्थी तथा सर्वसाधारणलाई लक्षित गर्दै सहज र सुरक्षित यातायातका लागि आधुनिक शैलीको फुटपाथ निर्माण थालनी गरेको हो। सडक चौडा, समानान्तर बनाउने तथा ह्विल–चेयर सहजै गुड्ने गरी संरचना निर्माण भइरहेको स्थानीयले बताएका छन्।

तर यसै बीच वडा नं ४ को नाला–पेटिका रोड भने उल्टो दिशातिर धकेलिँदै छ।
स्थानीयवासीका अनुसार नालाको छेउ–छाउमा राखिएका साना पेटिका, टहरा, सवारी पार्किङ र अनियमित व्यापारिक क्रियाकलाप ठूलो संख्यामा बढ्दै गइरहेका छन्। सडक नै पार्किङ स्थलजस्तै भएको देखिन्छ। तीन पाँग्रे सवारी, मोटरसाइकल, ठेला अटो टेम्पो बस तथा साना सामान बिक्री गर्ने बुथहरू नालामाथि नै राखिँदा पैदलयात्रु सडकमा हिँड्न बाध्य भएका छन्।

हामीले वडाका जनप्रतिनिधिलाई बारम्बार गुनासो राख्यौँ, निरीक्षण गर्न बोलायौँ, तर केही दिन सम्झाइ–बुझाइ बाहेक कुनै कारबाही भएन,” एक स्थानीयले भने। उनका अनुसार ट्राफिक प्रहरी पनि एक–दुई पटक मात्र देखिने र त्यसपछि फेरि अव्यवस्था उस्तै रहने गरेको छ।
सडक विस्तार र नाला संरक्षण गर्ने योजनालाई अतिक्रमणले धमिलो बनाइरहेको भन्दै स्थानीयले गुनासो गरेका छन्। “नगरपालिकाले एकातिर शहर सुन्दर बनाउने काम गर्छ, अर्कोतिर यहाँ सडक नै कब्जा गरेर राखिएको छ। कसैले पनि निगरानी गर्दैन,” एक स्थानीय व्यापारीले टिप्पणी गरे।

यातायात अवरुद्ध, भीडभाड र दुर्घटनाको जोखिमसमेत बढेको छ। किशोर विद्यार्थी, महिलाहरू र वृद्धवृद्धालाई सडक काट्नसमेत कठिनाइ भएको गोल्डेन ए,बी,सी स्कुल र कन्या मा,बि का विद्यार्थीले बताएका छन्।
यता, स्थानीय नागरिकहरूले यथाशीघ्र नाला संरक्षण, फुटपाथ खाली गराउन र सवारी ठेगानामा ल्याउन माग गरेका छन्।
नेपालगन्ज उपमहानगरपालिकाको ‘व्यवस्थित शहर, सुरक्षित नागरिक’ अभियानले वास्तविक प्रभाव देखाउन वडा नं ४ को नाला–पेटिका रोडको समस्या तत्काल समाधान आवश्यक छ भन्ने जनगुनासो दिनानुदिन बढ्दै गएको छ।



