नेपालगन्ज, बाँके — लामो समयदेखि सडकअधिकारमै अतिक्रमण गरी व्यापारिक तथा निजी संरचना विस्तार हुँदै आएको वीपी चौकदेखि धम्बोजी चौकसम्मको सडक क्षेत्रमा आजदेखि दीर्घकालीन अतिक्रमण हटाउने अभियान औपचारिक रूपमा सुरु गरिएको छ। नेपालगन्ज उप–महानगरपालिकाको नेतृत्वमा अगाडि बढाइएको यो अभियानलाई “सहर व्यवस्थित बनाउने दीर्घ योजनाकाे पहिलो चरण” भनेर सरोकारवाला निकायहरूले व्याख्या गरेका छन्।
आज बिहानैदेखि ठूलो सङ्ख्यामा स्थानीय बासिन्दा, व्यापारी, जनप्रतिनिधि तथा सुरक्षाकर्मीको उपस्थितिमा डोजर (JCB) प्रयोग गरेर सडक छेउमा बनाइएका अवैध टहरा, पक्की संरचना, फुस–पाता, शेड, फुटपाथ ओगटेर राखिएका सामानहरू हटाइने कार्य सुरु भयो। धेरै वर्षदेखि कागजी नोटिस, चेतावनी र समझदारीका प्रयासहरू निष्प्रभावी बनेपछि उप–महानगरपालिकाले कडा कदम चाल्दै कानुनी प्रक्रियाअनुसार अटेरीकर्तामाथि कारबाहीसमेत अघि बढाइएको जनाएको छ।
नेपालगन्ज उप–महानगरपालिकाका अधिकारीहरूका अनुसार विगत लामो समयदेखि अवैध अतिक्रमणका कारण सड़क साँघुरो, जाम बढ्ने, पैदलयात्रीकाे सुरक्षा जोखिम तथा सहरको सौन्दर्यकरणमा नाकारात्मक असर परेको थियो।
“यो अभियान कुनै एक वर्गलाई लक्षित होइन, सहरलाई दीर्घकालीन रूपमा व्यवस्थित बनाउन आवश्यक बाध्यकारी प्रक्रिया मात्र हो,” अधिकारीहरूले बताएका छन्।
स्थानीय जनताको समर्थन र केही असन्तोष
अभियानको पहिलो दिन सडक किनारमा भेला भएका स्थानीय नागरिकहरूको मिश्र प्रतिक्रिया देखिएको थियो। धेरैले यातायात सहजता, फुटपाथको सुरक्षा र सहरको सुन्दरताका कारण अभियानको खुलेर समर्थन गरे।
तर केही व्यापारीहरूले भने अचानक भत्काउने कार्य नहुने, वैकल्पिक व्यवस्था मिलाउनुपर्ने र नक्सामा परेका सीमाना स्पष्ट पार्नुपर्ने माग राखेका छन्। उप–महानगरपालिकाले सबै सरोकारवालासँग पटक–पटक छलफल गरिसकेको र अधिकार क्षेत्रभित्र पर्ने सबै संरचनामा कानुन अनुसारै कारबाही हुने पुनः स्पष्ट पारेको छ।
अभियानलाई शान्त, मर्यादित र व्यवस्थित बनाउन सुरक्षाकर्मीको ठूलो उपस्थिति देखियो। नेपाल प्रहरी, ट्राफिक प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले भीड व्यवस्थापन, यातायात सञ्चालन र सम्भावित विवाद नियन्त्रणका लागि सक्रिय भूमिका निभाएको थियो।
उप–महानगरपालिकाले आगामी दिनमा रनवे रोड, महादेवपथ, रानीतालाव क्षेत्र लगायतका अतिक्रमित क्षेत्रमा पनि क्रमिक रूपमा अभियान सञ्चालन गरिने जनाएको छ। सहरको मुख्य रोड विस्तार, फुटपाथ निर्माण, सिसिटिभी स्थापना र हरियाली प्रवर्द्धन योजना पनि यसै अभियानसँग जोडिएको छ ।
आजबाट सुरु भएको अतिक्रमण हटाउने अभियानले नेपालगन्जलाई व्यवस्थित, सुरक्षित र सुन्दर सहर बनाउने दिशामा नयाँ आशा जगाएको स्थानीयवासीहरूको प्रतिक्रिया छ। उप–महानगरपालिकाले भने “यो सुरुवात मात्र हो, अन्त्य होइन” भन्दै निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।



