अनिश शाह
नेपालगन्ज, बाँके ।
“सेवा नै धर्म हो” भन्ने पवित्र नाराका साथ यस वर्ष पनि श्री १००८ हडिया बाबा आश्रममा देश–विदेशबाट आएका साधुसन्त तथा भक्तजनहरूका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। हरेक वर्ष हडिया बाबा मेलाको अवसरमा आयोजित यो शिविरमा यसपटक पनि आँखा, कान, सामान्य रोग तथा स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको थियो।
गौरव स्मृति तथा बि,योर सेल्फ फाउन्डेसनको आयोजनामा सम्पन्न यस स्वास्थ्य शिविरमा नेपालगन्ज लगायत विभिन्न स्थानका विशेषज्ञ चिकित्सकहरूको टोलीले सयौं साधुसन्त तथा श्रद्धालुहरूको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरेका थिए।
शिविरमा विशेषगरी बृद्ध साधुसन्तहरूको आँखा र कान सम्बन्धी समस्या पहिचान गरी तत्काल उपचारका साथ भविष्यमा आवश्यक शल्यक्रियाका लागि सिफारिस पत्र पनि प्रदान गरिएको आयोजक समितिले जनाएको छ। चिकित्सकहरूले स्वास्थ्य सचेतना सम्बन्धी सन्देश समेत दिएका थिए — “सन्त सेवा नै सच्चा धर्म हो, सेवा मार्फत नै समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ।”
मेलामा देशका विभिन्न स्थानबाट आएका भक्तजनहरूले पनि स्वास्थ्य शिविरमा लाभ लिँदै आयोजक संस्थालाई धन्यवाद दिएका छन्। साधुसन्तहरूले आयोजक टोलीलाई आशीर्वाद दिँदै भने, “मानव सेवाभन्दा ठूलो धर्म केही छैन।”
यो स्वास्थ्य शिविरले आश्रम परिसरमा उपस्थित सन्त, साधु र भक्तजनहरूमा खुशी र सहजताको अनुभूति गराएको छ। समाजसेवा र मानवतामूलक कार्यमा निरन्तर सक्रिय गौरव स्मृति तथा बि,योर सेल्फ फाउन्डेसनले भविष्यमा पनि यस्ता जनकल्याणकारी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
सेवा नै धर्म हो — यही भावना सँगै हडिया बाबा आश्रममा यस वर्षको स्वास्थ्य शिविर ऐतिहासिक रूपमा सफल र अर्थपूर्ण बन्यो।



