बैशाख-२४ बिहिवार

अनिश शाह

नेपालगन्ज — बाँके कलाकार संघ नेपालगन्जको आयोजनामा तथा नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा “प्रथम मेयर सांस्कृतिक कप–२०८३” अन्तर माध्यमिक विद्यालय स्तरीय सामूहिक लोक नृत्य प्रतियोगिता आयोजना हुने भएको छ। कार्यक्रमको जानकारी दिन जारी गरिएको प्रेस नोटअनुसार प्रतियोगिता २०८३ जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सञ्चालन गरिनेछ।

प्रतियोगिता नेपालगन्जस्थित सुनाखरी रेस्टुरेन्ट एण्ड पार्टी प्यालेस, बी.पी. चौकमा बिहान ११ बजेदेखि सुरु हुनेछ। कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाउन पाउनेछन्।

प्रतियोगितामा विभिन्न जातजातिको मौलिक संस्कृति झल्किने सामूहिक लोक नृत्य प्रस्तुत गरिने आयोजकले जनाएको छ। प्रत्येक समूहमा कम्तीमा ६ जना र बढीमा १२ जना कलाकार सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।
कार्यक्रममा सहभागी हुन सामुदायिक विद्यालयका लागि रु. २,५०० तथा संस्थागत विद्यालयका लागि रु. ३,५०० दर्ता शुल्क तोकिएको छ।

प्रतियोगितामा प्रथम हुने समूहलाई नगद रु. ५१ हजार, कर कट्टा, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रो हुनेलाई रु. ३१ हजार र तेस्रो हुनेलाई रु. २१ हजारसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ। साथै अन्य सहभागी समूहलाई पनि प्रमाणपत्र प्रदान गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर