कानुनको धज्जी उडाउँदै कब्रस्तानमा करोडौंको अनियमितता: बैंक खाता र भौचरबिनै कारोबार, कारबाहीको माग चर्कियो
बैशाख-२४ बिहिवार
अनिश शाह
नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिका वडा नं–४ मा रहेको कब्रस्तान (चिहान) व्यवस्थापनमा गम्भीर आर्थिक अनियमितता र कानुन उल्लंघन भएको आरोप सार्वजनिक भएको छ। स्थानीय मुस्लिम समुदायका अनुसार, केही भू–माफिया र स्वयंघोषित व्यवस्थापकहरूले कुनै पनि आधिकारिक बैंक खाता नखोली तथा भौचरबिनै लाखौं रुपैयाँ बराबरको कारोबार गर्दै आएका छन्।
नेपालको प्रचलित कानुनी व्यवस्था अनुसार, कुनै पनि संघ–संस्थाले २५ हजार रुपैयाँभन्दा माथिको आर्थिक कारोबार गर्दा अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत भौचरको आधारमा पारदर्शी हिसाबकिताब राख्नुपर्ने व्यवस्था छ। तर, सम्बन्धित कब्रस्तानमा उक्त प्रावधानको ठाडो उल्लंघन गर्दै गैरकानुनी रूपमा नगद संकलन र खर्च गर्ने कार्य भइरहेको आरोप छ।
स्थानीयवासीहरूका अनुसार, धार्मिक आस्थाको केन्द्र मानिने स्थानमै यस्तो प्रकारको आर्थिक अपारदर्शिता र भ्रष्टाचार हुनु गम्भीर चिन्ताको विषय हो। “धर्मको नाममा धन्दा चलाइएको छ, लाखौं रुपैयाँको हिसाबकिताब नै छैन,” एक स्थानीयले आक्रोश व्यक्त गरे।
यस घटनाले धार्मिक स्थललाई नै कमाइ खाने माध्यम बनाइएको संकेत गर्दै समुदायले कडा आपत्ति जनाएको छ। साथै, जिल्ला प्रशासन कार्यालयमा मुद्दा प्रक्रियामा रहेको भनिए पनि हालसम्म स्पष्ट छानबिन र कारबाही नहुनुले थप शंका उत्पन्न गरेको छ।
मुस्लिम समुदायले नेपाल सरकारसमक्ष उक्त अनियमितताको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न, सम्पूर्ण आर्थिक कारोबारलाई बैंकिङ प्रणालीमा ल्याउन र कब्रस्तान व्यवस्थापनलाई पारदर्शी तथा उत्तरदायी बनाउन माग गरेको छ।
सम्बन्धित निकायले समयमै ध्यान नदिए धार्मिक आस्थामाथि नै आँच पुग्ने भन्दै स्थानीयले चेतावनी दिएका छन्।



