अनिश शाह
नेपालगन्ज-१२ चैत
नेपालगन्ज — भूमिसुधार तथा मालपोत कार्यालय मा स्थापना गरिएको ‘सेवाग्राही सहायता कक्ष हेल्प डेस्कलाई लिएर यतिबेला श्रेयको राजनीति तातिएको छ। जनताको सेवा सहज बनाउने उद्देश्यले स्थापना गरिएको यो कक्ष नै अहिले “झुठको खेती” को उदाहरण बन्दै गएको आरोप उठ्न थालेको छ।
स्रोतका अनुसार, उक्त हेल्प डेस्क नेपालगन्ज उपमहानगरपालिका र मालपोत कार्यालयको संयुक्त पहलमा सञ्चालनमा ल्याइएको हो। तर, नयाँ निर्वाचित सांसद मो इस्तियाक राई ले आफूले हेल्प डेस्क स्थापना गरेको भन्दै श्रेय लिन खोजेको भन्दै आलोचना भइरहेको छ।
स्थानीय स्रोतले दाबी गरेको छ—सांसद राईले केवल कम्प्युटर उपलब्ध गराएका हुन्, तर हेल्प डेस्कमा खटिने कर्मचारी भने उपमहानगरपालिकाले नै व्यवस्थापन गरेको हो। यसरी अरू निकायको पहललाई आफ्नो उपलब्धि देखाएर प्रचार गर्नु जनतालाई भ्रमित पार्ने प्रयास भएको भन्दै चर्को असन्तोष देखिएको छ।
यता सेवाग्राहीहरू भने झनै आक्रोशित छन्। “हेल्प डेस्क नाम मात्रैको भयो, पैसा बिना काम नै हुँदैन,” भन्ने गुनासो दिनहुँ सुनिन थालेको छ। सेवा सुधारको नाममा खोलिएको कक्ष नै यदि सेवाग्राही ठग्ने माध्यम बन्ने हो भने यसको औचित्यमाथि नै प्रश्न उठ्छ।
सरकारी कार्यालयमा पारदर्शिता र उत्तरदायित्वको कुरा बारम्बार उठ्दै आए पनि व्यवहारमा भने अझै सुधार हुन नसकेको स्पष्ट देखिन्छ। सम्बन्धित निकाय मौन बस्दा जनताको विश्वास झनै कमजोर बन्दै गएको छ।
अब प्रश्न उठ्छ—
हेल्प डेस्क जनताको सेवाका लागि हो कि नेताको प्रचारका लागि?
यस विषयमा सम्बन्धित निकायले स्पष्ट जवाफ दिनु पर्ने माग सर्वसाधारणबाट उठ्न थालेको



