घोराही । बैंक तथा वित्तीय संस्थाबाट भएको ब्याजदर बृद्धि तथा नेपाल राष्ट्र बैंकद्वारा जारी चालु पूँजी कर्जा निर्देशिकाको विरोधमा लुम्बिनी प्रदेशका व्यवसायीहरु आन्दोलित भएका छन् ।

बुधबार घोराहीमा लुम्बिनीका १२ वटै जिल्लाका उद्योग वाणिज्य संघहरुको भेलाले एकहप्ते आन्दोलनका कार्यक्रम तय गरेको हो । बैंक तथा वित्तीय संस्थाहरुले मनोमानीरुपमा बैंक व्याजदर बृद्धि गरेको र व्यवसायीलाई अप्ठेरोमा पार्ने गरी नेपाल राष्ट्र बैंकले चालु पूँजी कर्जा निर्देशिका २०७९ ल्याएको भन्दै त्यसको विरोधमा व्यवसायीहरु सडकमा उत्रिएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश कमिटीको आयोजनामा घोराहीमा भएको भेलाले हस्ताक्षर संकलनदेखि बैंक घेराउसम्मका कार्यक्रम तय गरेका छन् ।

व्यवसायीहरुले पुस १४ गतेदेखि १७ गतेसम्म बजारका विभिन्न स्थानमा सार्वजनिकरुपमै हस्ताक्षर संकलन गर्ने, संकलित हस्ताक्षर राष्ट्र बैंकमा बुझाउने, पुस १७ गते ११ बजे लुम्बिनी प्रदेशका सबै उद्योग वाणिज्य संघमा एकैपटक विरोध प्रदर्शन गर्ने, पुस १८ गते उद्योग वाणिज्य संघअन्तर्गतका वस्तुगत समिति र सो क्षेत्रअन्तर्गतका बैंकका म्यानेजरसँग सामूहिक अन्तत्र्रिmया गर्ने, पुस १९ गते सम्बन्धित जिल्लाका राष्ट्र बैंकका शाखा कार्यालय र जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने, पुसको २० र २१ गते देशका सातवटै प्रदेशका नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश समितिसँग समन्वय गर्ने र पुस २२ गतेदेखि आन्दोलनलाई केन्द्रीयरुपमा सञ्चालन गर्ने निर्णय गरेका छन् ।

भेलामा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय अध्यक्ष चण्डीराज ढकालले बैंकहरुले एकतर्फी व्याजदर बृद्धि गर्दा व्यवसायी पलायन हुने अवस्था आएको बताउनुभयो । ‘कोभिडमात्रै होइन व्यवसायीहरु कहिले द्वन्द्वको मारमा, कहिले आन्दोलनको मारमा र कहिले महामारीको मारमा परिरहेको छन्’– पूर्वअध्यक्ष ढकालले भन्नुभयो– ‘राज्यले कहिल्यै पनि निजी क्षेत्रलाई प्राथमिकतामा राखेन । उसैले ल्याएको नीति निर्देशिकाका कारण बरु व्यवसाय नै बन्द गरेर बस्ने अवस्था आइसकेको छ ।’ उहाँले बैंकरहरुको मानसिक तनावले व्यवसायी आत्महत्या गर्ने अवस्थामा पुगेको बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष उमेशलाल श्रेष्ठले सरकारले आर्थिक क्षेत्रलाई प्राथमिकतामा नराखेको भन्दै न्यायका लागि आन्दोलन र वार्ता सँगसँगै लैजानुपर्नेमा जोड दिनुभयो । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको अध्यक्षता नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण शर्माले गर्नुभएको थियो ।

अर्थमन्त्रीलाई ज्ञापनपत्र

व्यवसायीहरुले दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीमार्फत अर्थमन्त्री विष्णु पौडेललाई ज्ञापन पत्र बुझाएका छन् । बैंक व्याजदरको विरोधमा ¥याली निकाल्दै व्यवसायीहरुले घोराही बजारको परिक्रमापछि जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाएका हुन् । प्रधानमन्त्री कार्यालय, नेपाल राष्ट्र बैंक र आफ्नो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघलाई समेत बोधार्थ पठाइएको ज्ञापनपत्रमा आर्थिक मन्दीका बेला पनि बिक्रीको २०÷२५ प्रतिशतमात्र ऋण लगानी गर्ने, ओभरड्राप्ट कर्जालाई मान्यता नदिने नियम राष्ट्र बैंकले ल्याएको, बैंकहरुबाट जथाभावी प्रिमियम बढाइएको, बैंक ब्याजदर एक्कासी १५÷१६ प्रतिशत पु¥याइएकोले तत्काल चालु पूँजी कर्जाको यस्तो खालको नियम खारेज गर्न माग गरिएको छ । व्यवसायीहरुले आर्थिक मन्दीको यो अवस्था सहज नभएसम्मका लागि पुरानै अवस्था कायम गरी उद्योग तथा व्यवसाय सञ्चालनको व्यवस्था गरिदन माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार