गोरखा । गोरखाका ट्याक्सी व्यवसायीले स्मार्ट राइड सेरिज एपका संचालक दिपक शाहीलाई कुटपिट गरेका छन् । नियम विपरित पठाओ सेवा संचालन गरेको भन्दै वुधवार बिहान शाहीमाथि उनीहरुले कुटपिट गरेका हुन् ।
प्रहरी कार्यालय परिसरभित्रै आफूमाथि कुटपिट भएको शाहीले बताए । ‘हामीले यात्रु बोक्यो भनेर ट्याक्सी व्यवसायीले बिरोध गर्दै आएका थिए, त्यही बिषयमा छलफल गर्न भनेर आज प्रहरीमा बोलाइएको थियो,’ उनले भने, ‘म त्यहाँ पुग्न नपाउँदै केही व्यवसायीले तथानाम गाली गर्दै हातपात गरे ।’
प्रशासन कार्यालयबाट यात्रु बोक्न अनुमति पाएपनि ट्याक्सी व्यवसायीले बिरोध गर्दै आएको उनको भनाइ छ । विवादको क्रममा सामान्य हातपात भएको प्रहरी निरिक्षक हिमनाथ घिमिरेले बताए । दुवै पक्षलाई राखेर छलफल भइरहेको उनले जानकारी दिए ।



