दाङ । दाङको बबई गाउँपालिका वडा नं. ७ सिमलकुनामा करिब ८० क्युफिट सालको काठ फेला परेको छ । उक्त काठ बस्ती क्षेत्रमा फेला परेको हो ।

बेवारिसे अवस्थामा फेला परेको काठलाई पुरन्धारा सबडिभिजन वन कार्यालयले मुचुल्का उठाएर वन समूहलाई जिम्मा लगाएको छ । सातवटा सालका गोलिया बेवारिसे अवस्थामा फेला परेका हुन् । सातवटा गोलिया ८०.७५ क्यूफिट बराबर रहेको छ । बस्ती क्षेत्रमा सालको काठ बेवारिसे अवस्थामा फेला परेपछि वनभित्र हुने चोरी तस्करीको विषय बाहिर आएको छ । चोरी तस्करी गर्ने समूहले नै सालको काठ लुकाएको हुन सक्ने उपभोक्ताको भनाइ छ ।

एकातिर वन समूहको कार्यायोजना निर्माण तथा नवीकरणको कार्य समयमै हुन सकेको छैन । अर्कोतिर वन क्षेत्रमा हुने चोरी तस्करीका घटनाले उपभोक्तालाई झस्काएको छ । वन समूहको क्षेत्रभित्र रुख कटान जथाभावी भएको उपभोक्ताको भनाइ छ । चोरी तस्करी गर्ने समूहले बबई–७ मा रहेको सातपोखरी सामुदायिक वन समूहमा रुख काटेको जनाएका छन् । रातिको समयमा चोरी तस्करी गर्ने समूहले रुख काटेको उनीहरुले बताए ।

बबई–७ मठेउरीका गोपाल बस्नेतले जंगलमा जथाभावी रुख कटान भइरहेको बताउनुभयो । रुख कटान भएको थाहा पाएपछि बस्नेतले पुस ६ गते फेसबुक मार्फत् यस्ता कार्य रोक्नलाई आग्रह गर्नुभएको थियो । उपभोक्ता बस्नेतले तत्काल सरोकारवालालाई चोरी तस्करीमा संलग्नलाई खोजी र अनुसन्धान गर्न समेत आग्रह गर्नुभएको छ । चोरी तस्करी गर्नेलाई तत्काल कारवाही नगरेमा यस्ता समस्या भविष्यमा झनै थपिने बस्नेतको भनाइ छ । सातपोखरी सामुदायिक वन समूहका अध्यक्ष पोखरसिंह घर्तीले आफ्नो वन क्षेत्रमा रुख कटान नभएको बताउनुभयो । सातपोखरी सामुदायिक वन समूहको क्षेत्रमा आफूहरुले अनुगमन गरेको भन्दै जथाभावी रुख कटान नभएको अध्यक्ष घर्तीले जानकारी दिनुभयो ।

अध्यक्ष घर्तीले सातपोखरी सामुदायिक वन समूहसँग सल्लेरी सामुदायिक वन समूह र जरायो टाकुरी सामुदायिक वन समूहको सीमाले केही विवाद उत्पन्न भएको बताउनुभयो । सल्लेरी र जरायो टाकुरीमा हुने चोरी तस्करी समेत आफ्नै क्षेत्रबाट हुने गरेको अध्यक्ष पोखरसिंह घर्तीको भनाइ छ । यस्तै पुरन्धारा सबडिभिजन वन कार्यालय हापुरेका प्रमुख यमलाल भण्डारीले पछिल्लो समयमा चोरी तस्करीका घटना कम भएको बताउनुभयो । केही स्थानमा बेवारिसे अवस्थामा सालका काठ फेला परेको भन्दै प्रमुख भण्डारीले मुचुल्का उठाएर वन समूहलाई जिम्मा लगाएको बताउनुभयो ।

कार्यालयका प्रमुख भण्डारीले सातपोखरी सामुदायिक वन समूहमा निकै चोरी तस्करी हुने गरेका थिए । केही समय चोरी तस्करीका घटनामा कमी आए पनि पछिल्लो समयमा चोरी तस्करी गर्ने समूहले आफ्नो कार्यलाई तीब्र बनाएको डिभिजन वन कार्यालयका प्रमुख भण्डारीले जानकारी दिनुभयो । बस्तीको नजिकै बेवारिसे अवस्थामा फेला परेको सालको काठ र वन क्षेत्रमा हुने चोरी तस्करीका घटनालाई कम गर्न भन्दै कार्यालयले वन समूहलाई पत्र लेखेको छ । तत्काल चोरी तस्करीमा सक्रिय ब्यक्ति र समूहको पहिचान गर्न कार्यालयले वन समूहलाई पत्र लेखेको छ । साभारः नयाँ युगबोध

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार