प्रेमबहादुर राम्जा
तुलसीपुर । तुलसीपुरमा जारी प्रथम लुम्बिनी प्रदेशस्तरीय कृषि तथा पर्यटन महोत्सवमा सल्यानी खुकुरीको स्टल राखिएको छ । युथ्स अफ तुलसीपुरले आयोजना गरेको कृषि महोत्सवमा दुईवटा कृषिका स्टल रहेको महोत्सवमा सल्यानी खुकुरीको स्टलले स्थान पाएको छ ।
गुणस्तर र सजावटका हिसाबले चर्चामा छ सल्यानी खुकुरी । सल्यानमा बनाइएका खुकुरीको अहिले देशभर चर्चा हुन्छ । देश विदेशमा चर्चा कमाउन सफल र कलात्मक सल्यानी खुकुरी महोत्सवमा पनि चर्चामा छ । सल्यान जिल्लामा निर्माण हुने भएकाले सल्यानी खुकुरीका रुपमा परिचित खुकुरी अहिले सल्यानमा मात्रै निर्माण हुँदैन । सल्यानी खुकुरी जिल्लाबाहिर निर्माण मात्रै नभएर बिक्रीसमेत सल्यानभन्दा बाहिर हुन थालेको छ ।
सशस्त्र द्वन्द्वको समयमा सल्यानी खुकुरीको चर्चा कम हुने गरेको थियो । खुकुरी बनाउने पेशा नै बन्द भयो पनि तर यसको उत्पादन सल्यान बाहिर पनि हुन थालेपछि यसको महत्व र बजार पनि उत्तिकै रहेको छ । सल्यानी खुकुरीका रुपमा रहेका ब्राण्ड अहिले दाङको तुलसीपुरमा सञ्चालन भइरहेको प्रथम लुम्बिनी प्रदेशस्तरीय कृषि तथा पर्यटन महोत्सवमा राखिएको छ । तुलसीपुर–१२ कटाहाका उमलाल बिकले महोत्सवको स्टल नं. २७५ मा राख्नुभएको छ ।
स्टलमा सल्यानी खुकुरीको बिक्री पनि राम्रै भइरहेको छ । महोत्सवमा सहभागी हुने दर्शकले खुकुरी तथा कृषि औजार खरिद गरिरहेका छन् । स्टलमा एक सय रुपैयाँदेखि १० हजारसम्मका कृषि औजार राखिएको छ । स्टलमा सल्यानी खुकुरीसँगै चक्कु, खँुडा तथा अन्य भान्छामा प्रयोग हुने सामग्री राखिएको छ । खुकुरी तथा अन्य कृषि औजार राख्नुभएका उमलालले जिल्ला तथा देशका अन्य बजारमा लाग्ने महोत्सब नछुटाएर स्टल राख्ने गर्नुभएको छ ।
वार्षिक रुपमा ८÷१० लाखको कारोबार गर्दै आउनुभएका उमलाल बिकले सल्यानी खुकुरी उत्पादनलाई पहिलो प्राथमिकतामा राख्ने गर्नुभएको छ । गाडीका पट्टाका खुकुरी तथा कृषि औजार निर्माण गर्ने गरेको सञ्चालक उमलालले जानकारी दिनुभयो । बुवा मणिराम बिकले २०४० सालदेखि शुरु गरेको राप्ती खुकुरी उद्योगको प्रेरणाले उमलाल बिकले २०७५ सालदेखि राप्ती सल्यानी खुकुरी तथा कृषि औजार उद्योग स्थापना गरेर सल्यानी खुकुरी उद्योग सञ्चालन गर्नुभएको हो । स्वदेशमा रोजगारी नभएको भन्दै विदेश जाने युवाहरुको संख्या बढिरहेको अवस्थामा उमलालले ८–१० जनालाई रोजगारी प्रदान गर्नुभएको छ ।
परिवारसँगै अन्य युवालाई समेत उद्योगमार्फत रोजगारी प्रदान गरेको उमलालको भनाइ छ । बुवाले तुलसीपुर–६ र छोरा उमलाल बिकले तुलसीपुर–१२ टरिगाउँमा उद्योग सञ्चालन गर्दै आउनुभएको छ । दुबै उद्योगका खुकुरी तथा कृषि औजार तुलसीपुरको मेरो बजारमा स्टक गरिएको छ । उद्योगमा उत्पादन तथा प्रदर्शनीका लागि स्टलमा राख्ने गरिएको छ ।
मेला तीन दिन थप
गत मंसिर २५ गतेदेखि शुरु भएको प्रथम लुम्बिनी प्रदेशस्तरीय कृषि तथा पर्यटन महोत्सव तीन दिन थप गरिएको छ । बुधबारसम्मका लागि तय गरिएको महोत्सव तीन दिन थप गरिएको आयोजक युथ्स अफ तुलसीपुरले जनाएको छ । महोत्सव अब पुस ९ गतेसम्म सञ्चालन हुने मूल आयोजक समितिका संयोजक अरुण लहरेले जानकारी दिनुभयो । दर्शकहरुको मागलाई ध्यानमा राखेर महोत्सवको अवधि तीन दिन थप गरिएको आयोजक युथ्स अफ तुलसीपुरले जनाएको छ ।



