सर्लाही । सर्लाहीका विभिन्न क्षेत्रका किसानलाई माघे संक्रान्ति नजिकिएसँगै तरुल खन्ने चटारो बढेको छ ।
जिल्लाको शंकरपुर, राजघाट, हजरिया, बरहथवा, जिरायत, कर्मैया हजरियालगायतका क्षेत्रमा व्यावसायिकरूपमा तरुल खेती हुने गरेको छ । माघे संक्रान्ति नजिकिएसँगै उनीहरूलाई तरुल खन्न चटारो बढेको हो ।
ती क्षेत्रका किसानले तरुल बिक्रीबाट बर्सेनि मनग्य आम्दानी गर्दै आएका छन् । बाग्मती नगरपालिका-५ राजघाट टेकानीका जगतबहादुर खुलाल मगरले यस वर्ष करिब एक बिघा क्षेत्रफलमा तरुल खेती लगाएका छन् ।
मगरले गत वर्ष करिब तीन लाख ५० हजारको तरुल बिक्री गरेका थिए । अन्य खेतीका तुलनामा तरुल खेतीमा मेहेनत र खर्च कम फाइदा बढी हुने भएकाले १५ वर्षदेखि खेती गर्दै आएको उनले बताए ।
यस वर्ष खेतबाटै व्यापारीले प्रतिकिलो एक सय १० मा तरुल खरिद गरेको बाग्मती-६ का किसान यमकुमार मगरले जानकारी दिए । उनका अनुसार तरुल लिन व्यापारी किसानका खेतमै पुगेका छन् ।
लामो समयदेखि तरुल खेती गर्दै आएका यामकुमारले यस वर्ष करिब १६ कट्ठा जमिनमा तरुल खेती गरेका छन् । उनले व्यापारीलाई प्रतिकिलो एक सय १० का दरले खेतैमा र काठमाडौं पुर्याएर प्रतिकिलो दुई सय २० मा तरुल बेचेका छन् ।
खर्च कटाएर कट्ठाको करिब एक लाख आम्दानी भएको उनको भनाइ छ । तरुल खेतीबाट भएको आम्दानीले छोराछोरी पढाउने र घरव्यवहार चलाउन पुगेको उनले भनाइ छ ।
यहाँको तरुल स्वादिलो हुने भएकाले काठमाडौंलगायत देशका मुख्य ठूला शहरबाट अत्यधिक माग आइरहेको बाग्मती-८ का व्यापारी नुनुबाबु पण्डितले जानकारी दिए ।
यस क्षेत्रका किसानले पताले, झुसे, जाँते र रातो तरुल धेरै मात्रामा लगाउने गरेका छन् । तरुल खेती गर्न बलौटे तथा दोमट माटो उपयुक्त हुने किसानको भनाइ छ ।
बीउ, खनजोत, मलखाद र गोडमेलसमेत गरेर प्रतिकट्ठा करिब छ हजार लगानी हुने अर्का किसान रामबहादुर मगरले बताए । उनका अनुसार राम्रो उत्पादन हुँदा तरुल प्रतिकट्ठा करिब आठ क्विन्टलसम्म उत्पादन हुने गरेको छ ।
जिल्लामा मात्र यस वर्ष करिब तीन सय हेक्टर क्षेत्रफलमा तरुल खेती भएको कृषि ज्ञान केन्द्र मलंगवाका प्रमुख कमलदेवप्रसाद कुशवाहले जानकारी दिए ।
प्रमुख कुशवाहका अनुसार समय तथा मेहेनत पनि कम लाग्ने र सिँचाइ नभए पनि तरुल खेती राम्रो हुने भएकाले जिल्लाका किसान तरुल खेतीतर्फ बढी आकर्षित हुने गरेका छन्।



