हेमराज डाँगी
तुलसीपुर । स्थानीय तहमा जनप्रतिनिधि आईसकेपछि गाउँगाउँमा विकास निर्माणका कामहरु हुन थालेका छन् । विकास निर्माणको कार्य गर्दा केहि बाधाहरु पनि आउने गरेको छ ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिका १२ को क्वांगीको बिच सडकमा विद्युतको पोल छ । त्यहाँ अहिले सडक पिचको कार्य भैरहेको छ । तर सडक कालोपात्रे गर्दा सो पोललाई नहटाएमा सडकनै कुरुप र दुर्घटनाको जोखिम बढ्ने देखिन्छ । यो दृश्य क्वांगीको मात्रै नभएर अन्य स्थानका सडकहरुमा पनि देखिन्छ । तर यस्ता खालका दृश्यहरु बारम्बार दोहोरी राख्नु भनेको विद्युत कार्यालयको कमजोरी हो कि स्थानीय तहको ?
तुलसीपुर उपमहानगरपालिका १२ क्वांगीका स्थानीयवासी सडक कालोपत्रे हुँदा निकै खुशी छन् तर बिच सडकमा विद्युतको पोलका कारण निराश बनेका छन् । त्यहाँका स्थानीयले उक्त निमार्णाधिन अवस्थामा रहेको सडकमा विद्युतको पोल हटाउनका लागि विद्युत कार्यालय तुलसीपुर, वडा कार्यालय र तुलसीपुर उपमहानगरपालिकामा पत्राचार गरेपनि त्यसको सुनुवाई भने नभएको गुनासो छ। तुलसीपुर उपमहानगरपालिकाको १८ लाख बढीको लागतमा उक्त सडक कालोपत्रे भैरहेको छ ।
त्यस्तै नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्रमुख ज्ञान बहादुर फर्सालले ११ केभी विद्युत लाइन काट्ने र पोल सार्ने आफ्नो मातहतमा नभएकोले नसारिएको बताए । उक्त पोल सार्नका लागि नेपाल विद्युत प्राधिकरण बुटवलबाट स्वीकृतीका लागि पत्राचार गरेको जानकारी दिएका छन् । बुटवल प्राधिकरणले पोल सार्ने र लाइन काट्ने स्वीकृत प्रदान गरेपछि मात्रै उक्त पोल सारिने उनले बताए ।



