अनिश शाह
नेपालगन्ज- २६ फागुन
बाँके जिल्ला क्षेत्र नं-२ बाट निर्वाचनमा विजयी भएर जनताको विश्वास जितेका एमाले उम्मेदवार मो. इस्तियाक राईले जनतासामु गरेको अर्को महत्वपूर्ण प्रतिबद्धता दोहोर्याएका छन्। उनले निर्वाचित भएको १५ दिनभित्र सरकारी डेस्क स्थापना गरेर नागरिकलाई निःशुल्क श्रेष्ता सेवा उपलब्ध गराउने घोषणा गरेका छन्।
राईका अनुसार लामो समयदेखि सर्वसाधारणले जग्गा–जमिनसम्बन्धी श्रेष्ता र कागजी प्रक्रिया मिलाउन विभिन्न झन्झट र खर्च बेहोर्नु परेको अवस्था अन्त्य गर्न यो पहल गरिनेछ। “जनताको समस्या बुझेर त्यसको समाधान गर्नु नै जनप्रतिनिधिको पहिलो जिम्मेवारी हो,” उनले भने।
निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्ने अठोटका साथ राई अहिले योजनाबद्ध रूपमा काम अगाडि बढाइरहेका छन्। स्थानीयवासी पनि उनको घोषणापछि उत्साहित देखिएका छन्।
उनीहरूले भनेका छन्—यदि यो योजना कार्यान्वयन भयो भने सर्वसाधारणले सहज, छिटो र निःशुल्क रूपमा श्रेष्ता सम्बन्धी सेवा पाउनेछन्।
अब काउन्टडाउन सुरु भएको छ—१२ दिन बाँकी।
जनताले उत्सुकताका साथ हेर्दैछन्, वाचा अनुसारको काम कति छिटो र कति प्रभावकारी रूपमा पूरा हुन्छ।



