अनिश शाह
फागुन-२५
बाँके जिल्ला क्षेत्र नं–३ बाट निर्वाचित सांसद खगेन्द्र सुनार विजयपछि सबैभन्दा पहिला शहिदको घर पुगेका छन्। जनताको मतले विजयी भएपछि उनले शहिद परिवारलाई भेट्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।
लोकतन्त्र र परिवर्तनका लागि आफ्नो जीवन बलिदान दिने शहिदको योगदानलाई सम्झिँदै सुनारले शहिद परिवारसँग भेटघाट गर्नुले धेरैको प्रशंसा बटुलेको छ।
शहिदको बलिदानले बनेको व्यवस्थामा निर्वाचित भएपछि सबैभन्दा पहिला शहिद परिवारलाई सम्झनु नै साँचो सम्मान हुने भन्दै स्थानीयले पनि उनको कदमलाई सकारात्मक रूपमा लिएका छन्। जनताले दिएको जिम्मेवारीलाई शहिदको सपनासँग जोडेर अघि बढ्ने संकेत उनका यो कार्यले दिएको धेरैको भनाइ छ।
तर बाँके क्षेत्र नं–१ र २ बाट निर्वाचित अन्य प्रतिनिधिहरु भने अझैसम्म शहिद परिवारको घरसम्म पुगेका छैनन्। विजयपछि उत्सव र औपचारिक कार्यक्रममा व्यस्त देखिएका उनीहरू शहिदको घरसम्म नपुगेको भन्दै स्थानीयस्तरमा आलोचना सुरु भएको छ।
जनताको मतले जितेपछि शहिदको बलिदान सम्झन नसक्नु दुखद भएको भन्दै धेरैले प्रश्न उठाएका छन्— “शहिदको रगतले बनेको लोकतन्त्रमा जित्ने, तर शहिद परिवारको ढोका ढकढक्याउन पनि फुर्सद नपाउने?”
यस्तो अवस्थामा क्षेत्र नं–३ का निर्वाचित खगेन्द्र सुनार को कदमलाई उदाहरणीय मानिएको छ ।



