नेपालगञ्ज उप–महानगरपालिकाले शहरभरि वर्षौंदेखि देखिँदै आएको पोल–पोलमा लटरम्म झुण्डिएका अव्यवस्थित बिजुली, इन्टरनेट, केबल तथा टेलिफोनका तारलाई व्यवस्थित गर्न कडाइका साथ शुद्धीकरण अभियान सुरु गर्ने घोषणा गरेको छ। सोमबार बसेको नगर कार्यपालिकाको बैठकले पुस १ गतेदेखि ‘तार व्यवस्थापन विशेष शुद्धीकरण अभियान’ औपचारिक रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो।

शहरका मुख्य सडक, व्यावसायिक गल्लीदेखि घुँइचो हुने बस्तीहरूमा पोलका तार अत्यधिक जोखिमपूर्ण रूपमा झुण्डिएर बस्दै आएका छन्। कतिपय स्थानमा तारको भारीको कारण पोल नै ढल्ने जोखिम देखिएको, आगलागीको सम्भावना बढेको र आपतकालीन सेवा पहुँचमा बाधा पुगेको नगरपालिकाको अध्ययनले देखाएको छ। विशेषगरी बजार क्षेत्र, त्रिवेणी मोड, धम्बोजी, न्यूरोड, पुरानो बसपार्क भेरी अस्पताल फुल्टेक्रा आसपासमा तारको जटिल गुच्छा वर्षौंदेखि सार्वजनिक सुरक्षा चुनौती बनेको छ।
नगर प्रमुख प्रशन्त बिष्टका अनुसार, पुनःपुनः सूचना जारी गर्दा पनि सेवा प्रदायक संस्थाहरूले तार हटाउने वा व्यवस्थित गर्ने काममा लापरवाही देखाएपछि कडा कदम चाल्नुपरेको हो। “अब उपेक्षा सहिँदैन। १ गतेपछि अव्यवस्थित, म्याद सकिएका वा प्रयोगमा नरहेका तार नगरपालिका स्वयंले काटेर हटाइनेछ,” नगर प्रमुखले भने।
सेवा प्रदायकहरूलाई अन्तिम सूचना
नगरपालिकाले नेपाल विद्युत प्राधिकरण, इन्टरनेट सेवा प्रदायक (ISP), केबल टिभी सञ्चालक, टेलिकम तथा निजी नेटवर्क कम्पनीहरूलाई साताव्यापी ‘स्व–सफाइ अभियान’ चलाउन निर्देशन दिएको छ। निर्धारित समयभित्र तार व्यवस्थित नगरेमा काटिएको तारबाट हुने खर्च र क्षति सम्बन्धित कम्पनीले नै बेहोर्नुपर्ने नगरपालिकाले स्पष्ट जनाएको छ।
विगतमा पनि केही पटक तार व्यवस्थापनका प्रयास भए पनि निरन्तरताको अभावका कारण समस्या समाधान हुन सकेको थिएन। तर यसपटक सिंगो शहरलाई ‘सुरक्षित र स्वच्छ पोल अभियान’ अन्तर्गत एकै पटक कठोर रूपमा कारबाही गर्दै अघि बढाइने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले जनाएको छ।
- व्यवसायी तथा स्थानीयवासीले पनि यस कदमलाई स्वागत गरेका छन्। स्थानीयका अनुसार, बजार क्षेत्रमा तार झुण्डिएको कारण राति–बिराति चुँडिने, सर्ट हुने तथा बालबालिकालाई स्पर्श गर्दा जोखिम हुने घटना बारम्बार देखिँदै आएको थियो।
नगरपालिकाले माघ १ गतेबाट सुरु हुने यो व्यापक शुद्धीकरण अभियानलाई शहरको दीर्घकालीन सुरक्षा योजनाका रूपमा अघि बढाउने तयारी गरेको छ।



