बाँकेको राप्ती सोनारी गाउँपालिकामा इन्धनको चरम दुरुपयोग, गत आबमा मात्रै करिब ७७ लाख खर्च
बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका कार्यालयले सवारी इन्धनको चरम दुरुपयोग गरेको पाईएको छ ।
स्रोतका अनुसार पालिकाले गत आर्थिक वर्ष २०७९\०८० मा एक पेट्रोल पम्पलाई गरेको इन्धन भुक्तानीको विवरण हेर्दा इन्धनमा व्यापक अनियमितता भएको देखिएको छ ।
गाउँपालिकाले गत आर्थिक वर्ष २०७९ \०८० मा मात्रै कार्यालय प्रयोजन, पदाधिकारी र अन्य प्रयोजनको शिर्षक राखि पेट्रोल र डिजल प्रयोगमा मात्रै बार्षिक ७६ लाख ९३ हजार ३ सय १९ रुपैयाँ खर्च गरेको पाईएको छ।
पालिकाले इन्धनका नाममा खर्च गरेको पहिलो शिर्षक इन्धन पदाधिकारीमा १७ लाख ९३ हजार ८ सय ९९ रुपैयाँ खर्च गरेको उल्लेख छ । दोस्रो शिर्षक इन्धन कार्यालय प्रयोजन उल्लेख गरेको पालिकाले यो शिर्षकमा ५७ लाख ४९ हजार ६ सय ४५ रुपैयाँ खर्च गरेको उल्लेख छ । पालिकाले तेस्रो शिर्षक इन्धन अन्य प्रयोजन उल्लेख गरी १ लाख ४९ हजार ७७५ रुपैयाँ खर्च गरेको छ ।
पालिकाको मनोमानी रुपमा कुप्पन दिदा इन्धनमा धेरै खर्च देखिएको छ । पेट्रोल पम्पले दिएको बिलमा पालिका अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृतको फोन आदेशबाट, मौखिक आदेशबाट इन्धन दिएको उल्लेख छ । यसरी कुपन नै नकाटिएको तथा फोनकै आदेशको भरमा उधारो बिल पेश गरी भुक्तानी गरिएको पाइएको छ ।
पालिका पछिल्लो समय भ्रष्टाचारको अखडा बन्दै गएको छ। जनप्रतिनिधि र कर्मचारीहरू छिटो कमाऊ धन्दामा लाग्दा पालिका भ्रष्टाचारको अखडा बन्दै गएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भ्रष्टाचारसँग सम्बन्धी एक आकंडाले पनि यसलाई पुष्टि गर्छ ।



