काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू अलिक सेन्टिमेन्टल भएर प्रीतम सिंहबारेको अभिव्यक्ति दिएको प्रष्टीकरण दिएका छन् ।
उनले भने, ‘म अलिक सेन्टिमेन्टल स्वभावको छु भन्ने धेरैलाई थाहा छ । त्यो अभिव्यक्ति पनि भावनात्मकरुपमा नै आएको हो ।
सोमबार संसदमा बोल्दै उनले ‘प्रतिपक्षीले प्रश्न उठाउनेबित्तिकै राजनीनामा दिनुपर्ने हो ?’ भन्दै प्रश्न पनि गरे ।
संसदमा कटाक्ष गर्नभन्दा पनि स्पष्टीकरण दिन उभिएको भन्दै उनले भने, ‘म अहिले काउन्टर अट्याक गर्न उभिएको होइन । मेरो कुरा प्रष्ट नै छ । अलिक भावनात्मक भएँ हुँला, तर गल्ती गरेको छैन ।’
एक पुस्तक विमोचनका क्रममा आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह धेरैपटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिएपछि एमालेले राजीनामा मागेर संसद अवरुद्ध गरेको थियो ।
सोमबार कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताबीचको सहमतिपछि संसद खुलेसँगै प्रधानमन्त्रीले स्पष्टीकरण दिएका हुन् ।



