काठमाडौं- गत वर्षको तुलनामा यो वर्ष पुँजीगत खर्च धेरै भएको छ। चालु आर्थिक वर्ष सकिन तीन हप्ता बाँकी हुँदा गत वर्षको तुलनामा पुँजीगत खर्च बढेको हो। 

महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु वर्षको असार सात गतेसम्म १ खर्ब ५८ अर्ब ४९ करोड रुपैयाँ पुँजीगत खर्च भएको छ।

गत वर्षको यही अवधिमा जम्मा १ खर्ब ४२ अर्ब पुँजीगत खर्च भएको थियो। चालु वर्षको कुल पुँजीगत विनियोजनको ४१ प्रतिशत खर्च भएको छ। गत वर्ष यही अवधिमा ३७ प्रतिशत खर्च भएको थियो। 

स्रोतमा दबाबकै बीचमा सरकारले चालु वर्षका लागि विनियोजित बजेटको ४१ प्रतिशत खर्च गर्न सफल भएको छ। यो वर्षका लागि ३ खर्ब ८० अर्ब पुँजीगत खर्चका लागि विनियोजन गरिएको थियो। 

असार सात गतेसम्म सरकारले कुल खर्च १२ खर्ब गरेको छ। विनियोजनको ६६ प्रतिशत खर्च गरेको सरकारले राजस्व भने जम्मा ६० प्रतिशत उठाएको छ। यो अवधिमा सरकारले ८ खर्ब ४५ अर्ब राजस्व संकलन गरेको छ भने ४ अर्ब ८० करोड अनुदान परिचालन गरेको छ। राजस्व, अनुदान र अन्य प्राप्ति गरेर सरकारले यो बीचमा कुल ८ खर्ब ८९ अर्ब आम्दानी गरेको छ। 

आम्दानीमा अन्तरसरकारी राजस्व बाँडाफाँट बिनाको हो। त्यसैले असार ७ गतेसम्म कुल बजेट घाटा ४ खर्ब पुगेको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार