बाँके । केहि दिनदेखि बढेको अत्यधिक गर्मीका कारण बाँकेको जनजीवन प्रभावित बनेको छ। गर्मी बढेपछि जिल्लाका सामुदायिक र निजी विद्यालयहरू केही दिनका लागि बन्द गरिएको छ।
जिल्लाका सबै पालिकाहरूका शिक्षा शाखाले सूचना निकालेर गर्मीका कारण विद्यालय बन्द गरिएको जनाएका छन्। यसअघि जेठ २१ गतेदेखि २३ गतेसम्म गर्मी बिदा गरिएकोमा २६ गते शुक्रबारसम्म थपिएको शिक्षा महाशाखाले जनाएको छ ।
बर्खे बिदाबाट कट्टी हुने गरी विदा थप गरिएको शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताए । दिन प्रतिदिन गर्मी बढ्दै जाँदा पठनपाठनमा समस्या हुनुका साथै विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले विदा थप गरिएको थापाले बताए ।

मङ्गलवार मात्र बाँकेको तापक्रम ४० डिग्री पुगेको छ। गर्मीका कारण सडकमा गुड्ने सवारी साधनदेखि पैदलयात्रीको चहलपहलसमेत कम देखिएको छ।
सडक सुनसान जस्तै बनेको छ। सरकारी कार्यालयमा पनि सेवाग्राहीको उपस्थिति कम छ। गर्मीले सबैभन्दा बढी दैनिक गुजारा गरेर जीविकोपार्जन गर्ने मजदुरहरू समस्यामा परेका छन्।
गर्मी बढ्दै गएपछि अन्य व्यापार व्यवसायमा चहलपहल नदेखिए पनि चिसो पेय पदार्थको व्यापार भने बढेको छ। अहिले उखुलगायतका जुस, खरबुजा, आइसक्रिमको व्यापार बढेको छ।



