जयन्ती चौधरी,

तुलसीपुर । सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउने भएको छ । ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधी खुवाउन लागेको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

दाङमा यस आर्थिक वर्षमा ६ देखि ५९ महिना उमेरसम्मका ५२ हजार एक सय ७७ जना बालबालिकालाई भिटामिन ए क्याप्सुल र १२ देखि ५९ महिना उमेरसम्मका ४६ हजार ४ सय ५५ जना बालबालिकालाई जुकाको औषधी खुवाउन लागिएको मातृ तथा बाल स्वास्थ्य सेवाका फोकल पर्सन सिता कंवरले जानकारी दिइन् ।

त्यस्तै फोकल पर्सन कंवरले ६ महिनादेखि २३ महिनाका बालबालिकालाई बहूसूक्ष्म पोषक तत्व (बाल भिटा) पनि खुवाइने बताइन् । जिल्लामा यस आर्थिक वर्षमा १७ हजार १ सय ८३ जना बालबालिकालाई बहूसूक्ष्म पोषक तत्व (बाल भिटा) खुवाइदै छ । तर प्रदेश सरकारले जिल्लामा आवश्यक मात्रामा बाल भिटा उपलब्ध गराउन नसकेको फोकल पर्सन कंवरले बताइन् ।

जिल्लाका लागि २२ लाख बाल भिटा आवश्यक भएता पनि प्रदेश सरकारले ३ लाख मात्रै बाल भिटा उपलब्ध गराएको उनको भनाइ छ । ‘पहिलो चरणमा पठाएको बाल भिटा बालबालिकाले खान योग्य नभएकोले फिर्ता पठाउनु पर्यो । तर यस पटक भने जिल्लामा चाहिने मात्रा भन्दा धैरै कम आएको छ, उनले भनिन् ।’

तीन लाख मात्रै बहूसूक्ष्म पोषक तत्व (बाल भिटा) आएपछि प्रत्येक गाउँपालिकालाई २४ हजार र नगरपालिकालाई ३६ हजारका दरले उपलब्ध गराएको उनले बताइन् । ‘चाहिए जति बाल भिटा आएको छैन, वितरणको जिम्मा गाउँपालिका र नगरपालिकालाई दिएका छौं । अब यसको वितरण गाउँपालिका र नगरपालिकाले कसरी गर्छ उहाँहरुले निर्णय गर्नुहुन्छ, उनले भनिन् ।’

त्यस्तै उनले बालबालिका ६ महिना पूरा भएपछि चाहिने सबै पोषक तत्वहरू आमाको दूधबाट मात्र नपुग्ने भएकाले आमाको दूधको साथै थप खाना खुवाउनु पर्ने बताइन् । ६ महिनादेखि दुई वर्षका बालबालिकालाई आवश्यक सम्पूर्ण पौष्टिक तत्व पाउनका लागि नजिकैको स्वास्थ्य संस्था वा महिला स्वास्थ्य स्वयमसेविकाबाट निःशुल्क पाइने बहूसूक्ष्म पोषक तत्व (बाल भिटा) पनि लिटो वा जाउलोसँग मिसाएर खुवाउन उनले आग्रह गरेकी छिन् ।

त्यस्तै उनले आफ्ना बालबालिकाहरूलाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत् भिटामिन ए र जुकाको औषधी खुवाउन आग्रह गरेकी छिन् । सरकारले हरेक वर्ष बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि ६/६ महिनामा खुवाउँदै आएको छ ।

त्यस्तै पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएकोले भौतिक दुरी कायम गरी, अनिवार्य मास्क प्रयोग गरेर आफ्नो बालबालिकालाई औषधी सेवन गराउन अनुरोध पनि उनले गरेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार