बाँके । परम्परागत थारु हस्तकलालाई परिमार्जन गरि नेपालगन्जमा ब्यवसायिक रुपमा थारु हस्तकला उद्योग संचालन गर्दै आएकी निरु चौधरीलाई नेपालगन्ज उद्योग बाणिज्य संघले सम्मान गरेको छ । संघले आफ्नो ३१ औँ वार्षिक साधारण सभाको अवसरमा पञ्चशिल हस्तकला केन्द्रकी अध्यक्ष समेत रहेकी चौधरीलाई उत्कृष्ट महिला उद्यमीको रुपमा सम्मान गरेको हो ।
‘उद्यमलाई कठिन परिश्रम र कडा संघर्षद्वारा नयाँ आयाम प्रदान गरि विशिष्ट पहिचान र महिला उद्यमीहरुको प्रेरणाको श्रोत भई अग्रणी भूमिकाको उच्च मूल्यांकन गर्दै नेपालगन्ज उद्योग बाणिज्य संघले आफ्नो ३१ औँ साधारण सभाको अवसरमा उत्कृष्ट महिला उद्यमीको रुपमा सम्मान गर्दछौँ,’ संघले प्रदान गरेको सम्मान पत्रमा उल्लेख छ ।
सम्मानले थप जिम्मेवार र काम गर्ने हौसला प्रदान गरेको चौधरीले बताइन् । थारु हस्तकलालाई थप उचाईमा पुर्याउन हरसम्भवको प्रयास गरिरहने समेत उनले प्रतिवद्धता जनाएकी छन् ।
नेपालगन्ज उद्योग बाणिज्य संघको साधारण सदस्य समेत रहेकी उनले यसअघि स्ट्यान्डर्ड चार्टड–न्यूविज विजनेश ओमन समिट एण्ड अवार्ड २०२२ अन्तरगत लुम्विनी प्रदेशको उत्कृष्ट महिला उद्यमीको रुपमा ५५ हजार रुपैँया राशीको पुरस्कार पाइसकेकी छन् ।

महिला उद्यमी संघ बाँकेको कार्यसमिति सदस्य र नेपालगन्ज कोशेली घर संचालक सदस्य समेतको भूमिकामा रहेकी चौधरीलाई महिला उद्यमी संघ बाँकेले समेत उत्कृष्ट महिला उद्यमीको रुपमा यसअघि नै सम्मान गरिसकेको छ । उनको नेतृत्वमा रहेको पञ्चशिल हस्तकला केन्द्रले विभिन्न हस्तकला प्रदर्शनी, मेला र महोत्सवमा नगद पुरस्कार पाएको अध्यक्ष चौधरीले बताइन् ।
उनको हस्तकला केन्द्रले उत्पादन गरेका हस्तकला सामग्री नेपालगन्जमा आएका पाहुनालाई विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले कोशेलीको रुपमा प्रदान गर्दै आएका छन् । वातावरणमैत्री भएको उक्त हस्तकलाका सामग्री नेपालगन्जको चिनारीको रुपमा विकास हुँदै गएको छ ।
संघले वार्षिक साधारण सभाको अवसरमा गंगा रोजिन टार्पेनटाइनलाई उत्कृष्ट निर्यातकर्ता, बाहुबली ग्लोबल हर्बललाई तेस्रो देसमा सबैभन्दा बढी निर्यात गर्ने उद्योग, टण्डन प्लाष्टिक उद्योगलाई उत्कृष्ट उद्योग र उत्कष्ट आर्थिक पत्रकारका रुपमा गोरखापत्र दैनिकका नेपालगन्ज समाचारदाता सिराज खानलाई पनि सम्मान गरेको थियो ।



