सुशील पोखरेल,
प्यूठानमा ९ स्थानीय तह छन्, तीमध्ये एउटा पालिका हो– गौमुखी । सो पालिकाको नेतृत्वमा छन्– हिजोका पत्रकार आजका सहयात्री विष्णुकुमार गिरी र महाविर राना । गिरी अध्यक्ष हुन् भने राना उपाध्यक्ष । समग्र स्थानीय तहको सापेक्षतामा भौगोलिक विकटता, आर्थिक गरिबीदेखि अवसरका दृष्टिले शिक्षा, स्वास्थ्य, यातायातलगायत सबै पक्षमा चरम हार र मार व्यवहोरिरहेको अँध्यारो बस्तीका उज्याला युवानेतृत्व हुन् उनीहरु ।
विगतमा नेपाल पत्रकार महासङ्घ, प्यूठानले ओजिलो नेतृत्व महशुस गरेको महाविरप्रतिको आशा स्थानीय तहमा जोडिन पुगेको छ । यता, विभिन्न सञ्चारमाध्यममा आबद्ध रही पत्रकारिताको पृष्ठभूमिबाट उठेका कलिलै उमेरका युवानेतृत्व हुन् गिरी । २०७४ मै स्थानीय तहमा नेपाली कांग्रेसबाट पालिका अध्यक्षमा निर्वाचित भई अनुभव सँगालिसकेका उनका लागि यो दोस्रो कार्यकाल हो । अघिल्लो पटकभन्दा यसपटक उनले गतिलो सहयात्री पाएको महशुस गरेका छन् । विगतको ५ वर्षे कार्यकालमा पहिलो वर्ष उनले गौमुखीका विकट बस्तीमा सडक विस्तारमा जोड दिए । दोस्रो वर्ष खरको छाना कार्यक्रमले प्राथमिकता पायो । त्यसैगरी, तेस्रो वर्ष वडाकार्यालय तथा विद्यालयभवन निर्माणमा जोड दिए भने चौंथो र पाँचौं वर्ष मुख्य बस्तीमा सडक विस्तार तथा सिँचाइ र अधुरा योजनाहरुको कार्यान्वयनमा केन्द्रित रह्यो । अहिले भने विगतका अनुभव र प्रयासको जगबाट उठ्दै अबका दिनमा कृषि, स्वास्थ्य र शिक्षाको गुणस्तरीयतामा जोड दिँदै बेरोजगारीले देखिएको युवापलायनलाई ब्रेक गर्न आर्थिक समृद्धिका लागि यी दुई सहयात्रीहरु सक्रिय भएर लागिपरेका छन् । समग्र विकास प्रक्रियामा यी दुई युवा नेतृत्वको ऊर्जावान् भूमिकाले पालिकावासीमा उत्साह जगाएको छ, आशाको सञ्चार गरेको छ । यसर्थ, प्रस्तुत अंकमा यी दुई अध्यक्ष र उपाध्यक्षको संक्षिप्तरुपमा जीवनीदेखि राजनीतिक तथा सामाजिक पृष्ठभूमि केलाउने प्रयास गरिएको छ ।
कलिलै उमेरका सफल नेता गिरी

नेपालीमा उखान छ निरन्तर अभ्यास नै सफलताको कडी हो । प्यूठानको समकालीन राजनीतिमा कलिलै उमेरमा मुलुकको प्रमुख राजनीतिक पार्टी नेपाली कांग्रेस प्यूठानको नेतृत्वमा पुगेका युवा व्यक्तित्वको नाम हो– विष्णुकुमार गिरी गिरी । २०७२ सालको संविधानले व्यवस्था गरेको तीन तहको शासकीय मोडालिटीअन्तर्गत कायम भएको अधिकार सम्पन्न स्थानीय तहअन्तर्गत जिल्लाको सुदूर उत्तरी भेग गौमुखी गाउँपालिकामा दुई कार्यकाल अर्थात १० वर्षसम्म नेतृत्व गर्ने अवसर पाएका गिरी अहिले गौमुखीबासी जनताको सेवामै रमाएका छन् ।
२०५२ सालमा महेन्द्र मा.वि., पुँजामा अध्ययन गर्दा भएको रेडक्रस निर्वाचनको क्रममा नेवि सङ्घको तर्फबाट प्रतिनिधित्व गरी सहसचिवमा निर्वाचित हुनु जीवनको पहिलो चुनावी अनुभूति थियो गिरीको । यसैगरी, पुनः २०५५सालमा गौमुखी मा.वि. ठूलाबेशीमा जुुनियर रेडक्रसको अध्यक्षमा निर्वाचित भएपश्चात् राजनीतिक यात्रा प्रवेशको पहिलो खुड्किलो बन्न पुगेको देखिन्छ । सहपाठी टुकलाल न्यौपाने, बसन्तलाल न्यौपानेलगायतका साथीहरुको प्रेरणा र सङ्गतले कांग्रेस राजनीतिमा आउन वातावरण मिलेको बताउने गिरी विद्यार्थी आन्दोलनबाट खारिँदै पार्टी भूमिकाको जिल्ला सभापतिसम्मको जिम्मेवारीमा आइपुगेका हुन् ।
२०५७ सालमा उच्च शिक्षाका लागि स्वर्गद्वारी बहुमुखी क्याम्पस, पुण्यखोलामा प्रविणता प्रमाणपत्र तह अध्ययनको सिलसिलामा सोही वर्षको फागुन महिनामा सम्पन्न स्ववियू निर्वाचनमा सदस्यमा निर्वाचित हुनु, त्यसैगरी २०६२ सालमा स्वर्गद्वारी बहुमुखी क्याम्पसमा उपसभापतिमा समेत निर्वाचित हुने अवसरले क्रमशः राजनीतिक भूमिका सक्रिय बन्दै गएको पाइन्छ । २०६२ सालमा नेवि सङ्घ प्यूठानको उपाध्यक्ष अनि २०६४ सालमा नेवि सङ्घ प्यूठानको अध्यक्षको जिम्मेवारीबाट क्रमशः उठ्दै पार्टी भूमिकामा प्रवेश गर्नुभएका गिरीको राजनीतिक यात्रा त्यसपछाडि २०६७ मा नेपाली कांगे्रस प्यूठानको २ नं. क्षेत्रीय सभापति, २०७२ मा महासमिति सदस्य, २०७३ मा कांग्रेस जिल्ला पार्टी सचिव हुँदै २०७४ पहिलोपटक सम्पन्न स्थानीय तह निर्वाचनमा गोमुखी गाउँपालिकाबाट अध्यक्षमा निर्वाचन हुने अवसर मिलेको थियो । यता, सँगसँगै २०७५ मा गाउँपालिका राष्ट्रिय महासङ्घ लुम्बिनी प्रदेश सचिवको भूमिकाबाट उठ्दै २०७८ पुसमा सम्पन्न १२ औं प्यूठान जिल्ला अधिवेशनबाट नेपाली कांग्रेस प्यूठानको सभापतिमा निर्वाचित हुन सफल गिरी पुनः दोस्रोपटक २०७९ वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनबाट गौमुखी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् । भद्रपन, सरल स्वभाव र मीठो बोलीको प्रस्तुतिमा देखिने विशेषता भएका कांग्रेसका युवानेता गिरी राजनीतिमा जुन दिनदेखि जोडिए, त्यसै दिनदेखि निरन्तर सफलताको सिँढी चढ्दै गएको देखिन्छ । राजनीतिक आन्दोलनमा देखिने उतारचढाव एवम् पार्टीमा देखिएका विग्रह, विवाद र कतिपय चुनावमा पार्टीका आकार खुम्चिँदा वा फुक्दा उनी कहिल्यै पनि न त विचलित भए, न त हौसिए नै । सदैव पार्टीको सिद्धान्त र विचारप्रति एक ढङ्गले निष्ठापूर्वक लागिरहे । विद्यार्थी सङ्गठनमा आबद्ध हुँदाका ती प्रारम्भिककालमा पत्रकारिताको मोह पनि उनमा रहेको पाइन्छ । नेपाल पत्रकार महासङ्घ प्यूठान शाखाका सभापति स्व. सूर्य वि.क.को प्रेरणाले पत्रकारितामा लागेको बताउने गिरीले प्यूठान समाचार र बुटवलबाट प्रकाशित हुने बुटवल टुडे दैनिकमा समाचारदाताको भूमिकामा मात्र जोडिएनन् कि प्यूठान नगरक्षेत्रमा वितरकको भोगाइ कस्तो हुन्छ ? भन्ने अनुभव पनि सँगालेका छन् । २०६२ सालमा नेपाल पत्रकार महासङ्घ, प्यूठान शाखाको सदस्यतासमेत प्राप्त गरेका गिरीले जब २०६४ सालमा नेवि सङ्घ, प्यूठानको नेतृत्व सम्हाल्न पुगे, तब उनले आफ्नो जीवन राजनीतिमा होम्ने सङ्कल्प गरे । तत्पश्चात् स्वेच्छिक रुपमा पत्रकारिता र पत्रकार महासङ्घको सदस्यता त्यागेर इमान्दार राजनीतिक कार्यकर्ताको परिचय दिएका छन् ।
रोजगारीका अवसर सृजना गरी जनताको जीवनस्तर माथि उठाउने, अर्गानिक खेती प्रणालीलाई थप व्यवस्थित गरी उत्पादित वस्तुको मूल्य निर्धारण गर्ने र उत्पादनलाई बजारसम्म पु¥याउने साथै वनपैदावर तथा सीपमूलक कार्यमा प्रोत्साहन गर्ने, यसका साथै यातायात, शिक्षा, पर्यटनलगायतका क्षेत्रमा नयाँ मोडल प्रस्तुत गर्ने परिकल्पनासहित उनले दोस्रोपटक पालिकाको नेतृत्व सम्हालेका छन् । २०७४ सालमा नेपाली कांग्रेसबाट एकल रुपमा र २०७९ सालमा माओवादी केन्द्रसँगको तालमेलबाट अध्यक्षमा निर्वाचित भएका गिरीले एउटै पदमा दुईपटक दोहोरिनु उपयुक्त नहुँदो रहेछ भन्ने आफ्नै अनुभवले पुष्टि गरेको बताउँछन् । त्यसो त उनले अघिल्लो कार्यकालमा जनताको पक्षमा नै समर्पित भएर गरिएका कैयन गतिला उदाहरण छन् । अघिल्लो कार्यकालको कार्यकुशलताले नै उनलाई पार्टी र पालिकावासी जनताले विश्वास गरी पुनः यो जिम्मेवारी दिएका हुन् । उनले खेलेका केही उल्लेख्य गतिविधि हेर्दा प्यूठानमा प्रारम्भमै अन्य पालिकाले प्रयास थाल्नुअगावै सुरक्षित नागरिक आवास कार्यक्रमलाई थालनी गरी हाल पनि निरन्तता दिँदै ५ हजारको हाराहारीमा टिनको छाना व्यवस्थापन गर्न सफल भएका छन् । पालिका क्षेत्रमा सडक सञ्जाल विस्तार, कृषि र पशुपालनका क्षेत्रमा अनुदानका साथै प्रविधि हस्तान्तरणजस्ता पक्षमा पनि महत्वपूर्ण भूमिका खेलेको देखिन्छ ।
यससँगै स्वास्थ्य सेवामा गुणस्तरीयता ल्याउन एम.बी.बी.एस. प्रमाणपत्र प्राप्त स्वास्थ्यकर्मी, गौमुखी पर्यटकीय गन्तव्यलाई प्रवद्र्धनात्मक रुप दिन पत्रकार महासङ्घसँगको सहकार्यमा गौमुखी मिडिया सम्मेलन, अपाङ्गलाई खुट्टा वितरण, ५० वर्षभन्दा माथिका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्तामा प्रोत्साहन, शिक्षा क्षेत्रमा पालिका स्रोतबाट ७० जना अपुग दरबन्दी व्यवस्थापन, पालिका स्तरीय शिक्षा ऐन र नियमावली बनाएर ज्येष्ठताको आधारमा प्रधानाध्यापक नियुक्त गर्ने व्यवस्था, खानेपानीको क्षेत्रमा ‘एक घर एक धारा’, कटुवाललाई मोबाइल वितरणजस्ता कार्य अघिल्लो कार्यकालका केही दृष्टान्त हुन् । यसरी नै चालु कार्यकालमा विकासका विभिन्न आयाम र सम्भावनालाई पक्रँदै जनतामा परिवर्तनको अनुभूति दिलाउन दृढतापूर्वक लाग्ने उनमा सङ्कल्प र धोको छ ।
कृषि, शिक्षा, पर्यटन र पूर्वाधार प्राथमिकता हाम्रो, सबै स्वस्थ र समृद्ध भए बन्छ गौमुखी राम्रो’ भन्ने नारासहितको नीति तथा कार्यक्रम लिएर जनताको सेवामा होमिइसकेका छन् । २०३८ साल पुस ८ गतेका दिन बुवा डाले गिरी र आमा नमादेवीको कोखबाट गौमुखी–४, पुँजामा जन्मिएका दुई भाइमध्ये कान्छा छोरा गिरी शैक्षिक योग्यतामा स्नातक छन् । कलिलै उमेरदेखि राजनीतिका माध्यमबाट मानवसेवा गर्ने जीवनको लक्ष्य बोकेका उनले भारतको नयाँ दिल्ली तथा चीनको बेइजिङसम्म भ्रमण गरेर केही अनुभव पनि सँगालेका छन् । जिल्लामा कैयन अनुभवी र उमेरले पाकेका राजनीतिकर्मीलाई उछिन्दै कलिलै उमेरमा अठिँलो एवम् जिम्मेवार नेताको रुपमा परिचय दिन सफल छन् । स्वाभाविकरुपमा यो स्थानमा आउन र ल्याउनमा प्रेरणा र सहयोगी भूमिका खेल्ने मुख्यतः जिल्लास्तरका नेताहरुमा अमर भण्डारी, सुवास केसी, खिमानसिंह रायमाझी, शिव रिजाल र केन्द्रमा गगन थापालाई मानसपटलमा राखेका छन् उनले । २०५७ साल चैत १३ गतेका दिन सीता केसीसँग वैवाहिक जीवनमा बाँधिएका गिरीका दुई छोरी छन् । निरन्तर राजनीतिक आन्दोलनमा खटिने प्रक्रियामा जोडिँदै आउँदा पारिवारिक जीवनमा भने असहजताको गहिरो पीडा र भोगाइ व्यवहोर्नु परेको उनी बताउँछन् । प्यूठानको समकालीन राजनीतिक फिगरमा कलिलै उमेरमा मुलुकको प्रमुख हैसियत राख्दै आएको पार्टी नेपाली कांग्रेस प्यूठानको सभापतिमा जिम्मेवारी सम्हाल्न सफल गिरी सकारात्मक र समर्पित सोंचका साथ एउटै कर्ममा लाग्ने हो भने त्यो मार्गमा सफलता छ भन्ने कुराको गतिलो उदाहरण हुन् ।
अँध्यारो बस्तीका उज्यालो तारा बनेका राना

विगतमा आवाजविहीनहरुको आवाज दिने रजवाराको सिरानमा रहेको अँध्यारो मेंद्रावाङ बस्तीका उज्याला तारा हुन्– महाविर राना । समग्र प्यूठान जिल्लाको विकासको मानकमा यहाँ रहेका ९ स्थानीय तहमध्ये पछाडि पारिएको पालिका हो गौमुखी । भौगोलिक विकटताले पनि धिक्कारिरहेको छ यहाँका जनसमुदायलाई, जसका कारण शिक्षा, स्वास्थ्य, यातायात तथा रोजगारीका क्षेत्रमा यहाँका जनसमुदायले कठीन सङ्घर्ष गर्नुपरिरहेको छ । विकासका लागि आवश्यक पर्ने मानव संसाधनदेखि भौतिक पूर्वाधारलगायत सबै आलोकबाट हेर्दा पछाडि पारिएको जिल्लाको उत्तरी क्षेत्र गौमुखीका लागि केन्द्रमा सहजरुपमा राजनीतिक पहँुच पुग्न सकिरहेको छैन । न त राजनीतिक शक्तिकेन्द्रले गौमुखीलाई चिन्न र बुझ्न सकेको छ । यही पृष्ठभूमिमा पछिल्लो समय गौमुखीवासीका आशा र भरोसाका केन्द्र बन्न पुगेका छन् महाविर राना ।
हाम्रो समाजमा कुनै पनि मनुष्यमात्र होइन हरेक प्राणीलाई जनाउने र चिन्ने नाम राखिएको हुन्छ । यसमा कतिपयको नामअनुसारको काम अनि स्वभाव मिलेको हुँदैन भने कतिपयको कामअनुसारको नाम जुरेको हुँदैन । तर, कामैले नाम कमाएका पात्र हुन् महाविर । अहिले उनी उमेरले ४० को नजिक टेक्दैछन् । यो युवा उमेरसम्म आइपुग्दा उनमा लामो सङ्घर्षपूर्ण अनुभूतिको सूची छ । राजनीतिक जीवनका अनेक सङ्घर्षबाट उक्लँदै, सामाजिक क्षेत्रमा गरिएको त्यागले एउटा विश्वासको उचाइ कायम गर्दै हाल उनी गौमुखीवासी जनताको हृदयको गहिराइमा छन् । गत २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा सर्वाधिक रुपमा विश्वासको मत लिएर पालिकाको उपाध्यक्षको जिम्मेवारी छन् उनी यतिबेला । जनताले दिएको जिम्मेवारीलाई पूरा गर्न अहिले अहोरात्र समर्पित भएर लागिपरेका छन् ।
बुवा नरबहादुर राना र आमा हिमादेवीको कोखबाट २०४१ साल कात्तिक ५ गतेका दिन जन्मेका महाविर रानामगरको जीवन इतिहास केलाउने हो भने उमेरले अहिले पनि उनी कलिलै छन् । तर, राजनीतिक सुझबुझ अनि परिपक्वता तथा जनताप्रतिको उत्तरदायित्वको सवालमा पाका र जिम्मेवार व्यक्ति हुन् । उनका भोगाइ र अनुभव हेर्दा समकालीन युवापुस्ताका लागि अनुशरणयोग्य पक्ष छन् । उमेरको १४ वर्षमै राजनीतिक लगावमा परेका उनका लागि पारिवारिक वातावरण प्रेरणाको स्रोत बन्यो । २०५४ सालको स्थानीय निर्वाचनमा आफ्नो बुवा रजवारा गाउँ विकास समितिअन्तर्गत राष्ट्रिय जनमोर्चाबाट वडाध्यक्षमा उम्मेदवार बने । घरमा कम्युनिष्ट पार्टीका नेताहरु घरमा आउने–जाने क्रम चल्यो । परिवार राजनीतिक वातावरणमा रहेपछि यसको प्रभाव उनमा पर्नु स्वाभाविकै भयो । ज्ञानोदय प्रा.वि., लामीबगर, रजवाराबाट प्राथमिक तह अध्ययन भ्याएका उनी मा.वि. तहको अध्ययनका लागि २०५५ सालमा गौमुखी मा.वि. ठूलाबेसीमा बास गर्न थाले । त्यो सिलसिलामा उनी अखिल छैठौंको इकाईमा आबद्ध भए । काम गर्दै आउँदा २०५७ सालदेखि इकाई सभापति भई साङ्गठनिक नेतृत्वमा पुगे । यता, समयले परिवर्तनका लागि उथलपुथलकारी सङ्घर्षको माग गरिरहेको थियो । यसैकारण माओवादीले २०५२ सालदेखि थालेको सशस्त्र युद्धले राज्यपक्ष आफ्नो शक्तिबाट साँघुरिँदै गएको थियो भने गाउँगाउँमा माओवादीको चहलपहल देखिन्थ्यो । माओवादीको जनजागरण अभियानदेखि साङ्गठनिक विस्तारले तीव्रता दिइरहेको थियो । तत्कालीन राष्ट्रिय परिस्थिति र माओवादीले उठाएको एजेण्डाले महाविरमा पनि विद्रोही चेतको भावना जाग्यो, जसका कारण स्वतःस्फूर्त निर्णय लिई माओवादी आन्दोलनमा होमिए उनी पनि । २०५७ सालताका विद्यार्थी नेता देवेन्द्र थापा, खगेश्वर के.सी. पार्टीको कमिटी विस्तारका लागि ठूलाबेसी छिरे । भूमिगत ढङ्गले बसन्त न्यौपानेको घरमा कमिटी गठन गर्ने काम भयो । उनी अध्यक्ष चुनिए । बिस्तारै उनमा राजनीतिक चासो बढ्दै गयो । २०५८ साल मङ्सिर ११ गतेदेखि उनले पूर्णकालीन कार्यकर्ताको रुपमा आफ्नो जीवनलाई राजनीतिमा सुम्पिए । त्यसपछाडिका दिनमा उनले आफ्नो जीवन राजनीतिक क्षेत्रसँगै पत्रकारिता र अन्य सामाजिक संस्थामा समानान्तर रुपमा बढाउँदै लगेको पाइन्छ ।
सशस्त्र युद्धताका माओवादी आन्दोलनभित्र युद्ध पत्रकारिताको अभ्यास बेजोड रुपले चलेको थियो । त्यसै क्रममा २०६० सालमा देशका ५ विकास क्षेत्रमा रेडियो सञ्चालन भएको थियो । त्यो प्रक्रियामा उनी रेडियो जनगणतन्त्र राप्तीमा आबद्ध भए । त्यस क्रममा प्यूठानका अर्का होनहार युवा सुदर्शन मंगोलले पनि उच्च भूमिका प्रदर्शन गरेका थिए । यता, माओवादी पार्टी पुनर्गठनको क्रममा २०६० सालमै तुकबहादुर रोका सेक्रेटरी रहेको १३ सदस्यीय जिल्ला पार्टी कमिटीमा सबैभन्दा कान्छो उमेरका महाविर पनि जिम्मेवारीमा जोडिन पुगे । क्रमशः २०६२ सालदेखि १ नं. एरिया (हालको गौमुखी क्षेत्र)मा पार्टी इञ्चार्जको भूमिकामा आइपुगे । देश, जनता र पार्टीप्रतिको त्याग र समर्पणका कारण पदीय जिम्मेवारीलाई अगाडि बढाउँदै लगे । यस्तै, २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनबाट निर्वाचित भएका सभासदहरु दिपकबहादुर के.सी. र नारायणप्रसाद अधिकारीको सचिवालय सहयोगीको रुपमा रही काठमाडौंमा बसेर सहयोग गरे भने सँगसँगै आफ्नो अध्ययनलाई पनि निरन्तरता दिए । २०६५ सालमा गठन भएको माओवादी पार्टीको मगरात राज्य समितिमा रही आफ्नो राजनीतिक भूमिका बढाउँदै लगे । त्यसयता उनी निरन्तर साविकको राज्य र हालको प्रदेश कमिटीमा रहेर राजनीतिक जिम्मेवारीमा छन् भने राज्यको पुनर्संरचनाको क्रममा कायम भएको स्थानीय तहको व्यवस्थाअनुसार गौमुखी गाउँपालिकाको इञ्चार्जको जिम्मेवारीमा छन् अहिले पनि । हेर्दै जाँदा राजनीतिक जीवनको एउटा शृङ्खला यसरी बढेको छ भने अर्कोतर्फ पत्रकारिता क्षेत्रको रुचि र रुझानले पार्टीजीवनसँगै पत्रकारिता क्षेत्रको यात्रालाई दरिलो गरी पक्रेको देखिन्छ ।
२०६० सालमा युद्ध–पत्रकारिताको पृष्ठभूमिबाट आजको जमानामा व्यावसायिकताभित्रको मिशन–पत्रकारितामा जोडिएका राना २०६३ सालमा रेडियो पश्चिमाञ्चल, पाल्पा, जसलाई माओवादीले पार्टी माताहतमा सञ्चालन गरेको थियो, सो रेडियोको जिम्मेवारीमा जोडिँदै गर्दा प्यूठानमा पहिलो प्रयासको रुपमा विकास मिडिया सर्भिस नेपालद्वारा सञ्चालनमा ल्याइएको रेडियो प्यूठानमा पनि आबद्ध रहे । २०६६ सालमा जनसञ्चार सहकारीको माताहतमा सञ्चालनमा ल्याइएको रेडियो लिस्ने आवाजको स्टेशन म्यानेजर भई आफ्नो सञ्चारक्षेत्रको पहलकदमीलाई सक्रियताका साथ अघि बढाउँदै लगे । २०६३ मा साङ्गठनिक रुपमा पार्टीको शुभेच्छुक पत्रकार संस्था क्रान्तिकारी पत्रकार सङ्घको जिल्ला अध्यक्ष, त्यसपछि केन्द्रीय सदस्य हुँदै सामुदायिक रेडियो प्रसारक सङ्घको केन्द्रीय सदस्यको जिम्मेवारी पनि उनले सम्हाले । यस्तै, आमसञ्चारकर्मीहरुको साझा पेसागत सङ्गठन नेपाल पत्रकार महासङ्घमा २०६६ सालमा सदस्यता लिएका उनले २०६७ मा पत्रकार महासङ्घ, प्यूठान शाखाको कार्यसमिति सदस्य, २०७० मा सचिव र २०७३ मा जिल्ला अध्यक्षको जिम्मेवारी पूरा गरे । उनी आफूमात्र पदीय तहमा पुगेनन् कि प्यूठान शाखालाई मुलुकको उत्कृष्ट शाखाको रुपमा दर्ज पनि गराए ।
महाविर रानाको पृष्ठभूमि केलाउँदै जाँदा उमेर छोटो तर भोगाइ र जिम्मेवारीको सूची लामो देखिन्छ । भनिन्छ, बिहानीले दिउँसोको सङ्केत गर्दछ । त्यसैअनुरुप कलिलै उमेरदेखिको उनको नेतृत्वकलाले गर्दा अहिलेसम्म हार बेहोरेका छैनन् । जीवनमा राजनीति र पत्रकारितामात्रै होइन अन्य सामजिक क्षेत्रमा पु¥याएको योगदान पनि उल्लेखनीय छन् उनका सन्दर्भमा । २०६६ सालमा नेपाल मगर सङ्घ, प्यूठानको सचिव, २०६९ मा आदिवासी÷ जनजाति महासङ्घ, प्यूठानको अध्यक्ष, २०७० मा जिल्ला सहकारी सङ्घ, प्यूठानको सञ्चालक सदस्यलगायतका संस्थाका अनुभव पनि उनमा छन् । चीनको स्वशासित क्षेत्र तिब्बतको भ्रमण गरेर विकास मोडेलका सन्दर्भमा केही अनुभव हासिल गरेका महाविर रानाले आफ्ना कामको परिणामस्वरुप २०७० सालमा जिल्ला विकास समितिबाट उत्कृष्ट पत्रकारिता पुरस्कार ग्रहण गरेका थिए । उनी कालिका विकास केन्द्रलगायत अन्य आधा दर्जन संस्थाबाट पनि पुरस्कृत भएका छन् भने अन्य कैयन संस्थाबाट सम्मानित भएका छन् ।
बुवा–आमासहित श्रीमती पुष्पा थापा र एक छोराको सानो परिवार छ उनको । २०६९ सालमा रत्न राज्य लक्ष्मी क्याम्पस काठमाडौंबाट आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातक गरेका राना वास्तवमा समग्र प्यूठानका लागि नयाँ सम्भावना बोकेका उज्याला तारा हुन् । बोलीमा नम्रता, स्वभावमा भद्रताको गुणले युक्त महाविर रानाको रिस कस्तो छ ? यसको अनुभूति सायद कसैले पनि नगरेका होलान् जस्तो लाग्छ । कुनै आपत्तिजनक कुरा फेस गर्नु परे उनी हाँसेरै जवाफ दिन्छन् अनि विषयवस्तुलाई टार्छन् । विकट बस्तीको एउटा चम्किलो युवा, जसले सानै उमेरदेखि राजनीतिक तथा सामाजिक क्षेत्रमा जीवन समर्पण गरेर जुन उचाइ कायम गर्दै आएका छन्, उन रोजगारीका लागि जागिरको कल्पना कहिल्यै गरेनन्, विदेश जाने सपना कहिल्यै देखेनन् । यस अर्थमा गौमुखी बस्तीका लागि मात्र होइन, सिङ्गो प्यूठानको मानवीय पूँजी हुन् उनी । विकासले छुन नसकेको विकट बस्ती गौमुखी क्षेत्रका लागि आइपरेका समस्या, खड्किएका बाटाघाटा, पुलपुलेसा विद्युतीकरणका समस्या, शिक्षाका समस्यालगायत यावत् पक्षमा हरक्षण गाउँको स्वयंसेवक भएर मन्त्रालयदेखि सरकारी निकायको ढोका ढक्काउने उनी हिजो गुनासो पोख्ने हैसियतमा थिए भने उनको कार्यकुशलताका कारण समयले आज गौमुखी पालिकाको उपाध्यक्षको जिम्मेवारीमा पु¥याएर गुनासो सुन्ने ठाउँमा पु¥याएको छ । यो पदीय जिम्मेवारीमा पुगेपछि उनले कामको रचनात्मक भूमिका प्रदर्शन गर्न थालेको अनुभूत पनि गराएको छ । उनीसँगै कलिलै उमेरमा जिल्लाको उच्च राजनीतिक हैसियतमा पुगेका विष्णुकुमार गिरीसँगको सहयात्राले पनि टिम स्प्रिटमा युवाहरुको पालिकामा प्रवेशले जुन ऊर्जा भरेको छ, त्यसले पक्कै पनि यो ५ वर्षे अवधिमा गौमुखी क्षेत्रले समृद्धिको मार्गमा प्रवेश गर्ने महत्वपूर्ण अवसर प्राप्त गर्नेछ । समयबोध म्यागेजिनको माघ अंकबाट ।



