कुमार  श्रे ष्ठ,
बाँके । छुट्टा–छुट्टै प्यानल । घरदैलो, भेटघाट र मत माग्ने तरिका उस्तै । स्थानीय तहको निर्वाचनभन्दा कम थिएन, तामझाम ।

खजुराको ज्ञानोदय नमूना माविको व्यवस्थापन समितिको सदस्यको निर्वाचन हुँदै थियो । स्कूलको सदस्य जित्नका लागि दलका नेताहरु कम्मर कसेर लागेका थिए । नेताहरु एक्ला–एक्लै नभएर गठबन्धन बनाएर चुनावी मैदानमा होमिएका थिए । चार सदस्यका लागि दुई प्यानलमा गरेर आठजनाको उम्मेदवारी थियो । सत्ता गठबन्धनको एउटा र सरकार बाहिरका दलको अर्को प्यानल बनेको थियो । चुनावी बाजी सत्ता गठबन्धनले मा¥यो । एमाले र माओवादीका उम्मेदवारहरु नारदप्रसाद शर्मा, रामबहादुर खवास, भीमसरा भण्डारी र कौशिला थापाले जित निकाल्दा कांग्रेसको प्यानलका उम्मेदवार ५० देखि ६० मत अन्तरले पराजित हुन पुगे । कांग्रेसको प्यानलबाट विकासहरि कोइराला, सहजराम यादव, रमा फुयाल र सरोजाकुमारी यादव चुनावी मैदानमा उत्रिएका थिए ।

ज्ञानोदयमा एक हजार सात सय ७८ जना अभिभावक मतदाता थिए । निर्वाचनमा नौ सय २८ मत खस्यो । ५२.१९ प्रतिशत खसेको मतले व्यवस्थापन समितिको सदस्य चुनिए । पार्टीगत चुनावी महाकुम्भ मेलामा अभिभावकको उपस्थिति न्यून रह्यो । घर–घरमा पुगेर दल र उम्मेदवारले हात जोडे पनि गएको स्थानीय, प्रदेश र संघको चुनाव जसरी यो चुनावमा पनि मतदान धेरै भएन । ज्ञानोदय खजुराको मात्रै नभई बाँके जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालय मानिन्छ । खजुरामा धेरै विद्यार्थी भएको यो स्कूलको व्यवस्थापन समितिको नेतृत्व सम्हाल्न कांग्रेस, एमाले, माओवादीका जिल्लाका नेताहरु नै लागिपरेका थिए । दौडधुप गरेका थिए ।

जिल्लाको तेस्रो ठूलो शहर खजुरामा स्कूलदेखि खानेपानी उपभोक्ता समिति, खजुरा बजार संरक्षण समितिको नेतृत्व छनोट गर्दा पनि ‘राजनीति’ नै हुने गर्दछ । सेवा गर्ने निकायमा मिलेर जानुपर्छ भन्ने भावना पाइँदैन । आफ्नै पार्टीको नेतृत्व हुनुपर्छ भन्ने हठ गरेको देखिन्छ । स्थानीय सतिश निरौलाले सबै निकायमा दलहरुले आफू र आफ्नो मान्छे राख्न रुची देखाउनाले चुनाव भइरहेको बताउनुभयो । ‘आफू वा आफ्नो दलको मान्छे भयो भने त्यहाँ संगठन बलियो हुन्छ भन्ने दल र नेताहरुको बुझाइ देखिन्छ’– निरौलाले भन्नुभयो– ‘स्कूल, मठमन्दिर, खानेपानी, अस्पताल, वन समितिमा समेत दलहरुले आफ्नै मान्छे पठाउन रुची देखाउने र मिलेर जान सकेका छैनन् । यसले समाजलाई भने राजनीतिक रुपमा विभाजन गरिरहेको छ ।’

ज्ञानोदयमा चारजना सदस्य निर्वाचनबाट चुनिए । अब ती चारजनाले दुईजना मनोनीत गर्छन् । प्रधानाध्यापक, शिक्षक प्रतिनिधि र वडाध्यक्ष गरेर नौ सदस्यीय कार्यसमिति हुन्छ । यो कार्यसमितिले व्यवस्थापन समितिको अध्यक्ष चयन गर्दछ । खजुरामा ज्ञानोदयमा मात्रै होइन, जनसेवा मावि पुरैना र अमृत प्रावि कलहंसमा पनि चुनावबाट व्यवस्थापन समितिका सदस्य चयन भएका छन् । यी दुबै ठाउँमा पनि प्यानलगत उम्मेदवार थिए । जनसेवामा कांग्रेस र माओवादी एकातिर हुँदा एमाले अर्कोतिर थियो । जीत भने एमाले प्यानलका उम्मेदवारले निकाले । जनसेवामा नौ सय ५२ मतदाता थिए । एक सय ४२ मतदाता रहेको अमृतमा कांग्रेसका उम्मेदवारले बाजी मारेका छन् । खजुरामा १७ वटा मदरसा र ३० वटा सामुदायिक गरी ४७ वटा स्कूल छन् । फागुन महिनाभित्र व्यवस्थापन समितिको नेतृत्व चयन गरिसक्न गाउँपालिकाले निर्देशन दिएको छ । खजुरा गाउँपालिकाका शिक्षा शाखाका प्रमुख खगेन्द्र मल्लका अनुसार, आठ वटा स्कूलले नेतृत्व चयन गरेका छन् । अरु स्कूलले प्रक्रिया अघि बढाएका छन् ।
नयाँ युगबोधबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार