दाङको विकट मानिने बबई गाउँपालिका प्राकृतिकरुपमा सम्भावना बोकेको स्थानीय तह हो । विकास, निर्माण, कृषि उत्पादनका लागि पनि राम्रो सम्भावना रहेको बबईमा दोस्रो कार्यकालका लागि जनप्रतिनिधि चुनिएको पनि नौ महिना बित्न लागिसकेको छ । नयाँ जनप्रतिनिधि र बबईको विकासका सन्दर्भमा बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीसँग युगबोधकर्मी प्रेमबहादुर राम्जाले गर्नुभएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
बबई गापालाई चिनाउने गरी कार्यकालको आठ महिनामा के काम भए ?
२०७९ साल वैशाख ३० गतेको निर्वाचनमार्फत हामीहरु निर्वाचित भएर आएको धेरै लामो समय भएको छैन । हामीले नियमितरुपमा गर्ने कामलाई प्राथमिकतामा राख्दै केही नयाँ योजना पनि अघि सारेका छौं । बबई गाउँपालिकालाई केन्द्रमा राखेर कर्णाली प्रदेश र लुम्बिनीको बाँकेसँग जोड्नेगरी योजना अघि सारेका छौं । पहिलो पटक हामीले निर्माण गरेको बजेटमार्फत स्थानीय जनताको मागलाई ध्यानमा राखेर काम गरिरहेका छौं । विशेषगरी सिंचाईलाई प्राथमिकतामा राखेर घट्टेखोला र च्याटीखोलाको माथिल्लो क्षेत्रमा बस्तीलाई असर नपर्ने गरी जलाशय निर्माण गर्ने सोच बनाएका छौं । जसले बबई गाउँपालिकामा हरेक समयमा सिंचाई गर्नका लागि फाइदा पुग्ने देखिन्छ । सिंचाई हरेक समयमा हुन सकेमा उत्पादनमा समेत बृद्धि हुन्छ । यसका लागि हामीले छलफल र प्रक्रिया समेत अघि बढाएका छौं ।
दाङ सिमेन्ट उद्योगको खानीक्षेत्र हुँदै कर्णाली प्रदेशको सल्यान जिल्ला त्रिवेणी गाउँपालिकाको अखेलासम्म सडक पु¥याउनसमेत प्रक्रिया अघि बढेको छ । जसले सल्यानको मध्यक्षेत्रका जनतालाई दाङ आउन र जानका लागि सहज हुनेछ । जहाँ सडकको ट्रयाकसमेत निर्माण गरिएको छ । पहिलो पटक हापुरेमा चिस्यान केन्द्र निर्माणको प्रक्रिया अघि बढेको छ । जसले स्थानीय किसानले उत्पादन गरेको कृषिजन्य वस्तुको भण्डारण र बजारीकरणका लागि समेत सहयोग पुग्ने मैले देखेको छु । यसको फाइदा बबईका किसानले लिनेछन् ।
गएको माघ ५ गतेदेखि गाउँसभा शुरु भएको छ, सभाले के महत्वपूर्ण निर्णय गरेको छ ?
स्थानीय सरकारले वार्षिकरुपमा दुई पटक वर्षे र हिउँदे सभा गर्ने कानुनी ब्यवस्था छ । सोहीअनुसार हामीले माघ ५ गतेदेखि बाह्रांै गाउँसभा शुरु गरेका छांै । नियमित अनुसार भएको बाह्रौं गाउँसभाको पहिलो दिन तीनवटा प्रस्तावलाई संशोधनसहित पास गरेको छ । बाह्रांै गाउँसभाको पहिलो बैठकले मेरो अध्यक्षतामा कार्य ब्यवस्था परामर्श समिति गठन गरेको छ । सभाले विपत ब्यवस्थापन समिति र न्यायिक समितिको आर्थिक वर्ष २०७८÷०७९ को प्रतिवेदनलाई पास गरेको छ । हाम्रो गाउँसभा अझै पनि सकिएको छैन । बाह्रौं गाउँसभाको दोस्रो बैठक माघ २६ गतेका लागि तय गरिएको छ । बाँकी प्रस्तावहरु दोस्रो बैठकले पास गर्ने तयारी गरेका छौं ।
तपाइँहरुले शिक्षाका लागि के कस्ता कार्यक्रम सञ्चालन गर्नुभएको छ ?
पक्कै पनि स्थानीय सरकारसँग हरेक विषय आएर जोडिएका छन् । स्थानीय सरकारले काम गर्ने क्षेत्रमध्ये शिक्षा महत्वका साथ हेरिएको विषय हो । शिक्षा भविष्यका कर्णधार उत्पादन गर्ने क्षेत्र पनि हो । शिक्षाबिना केही काम पनि हुन सक्दैन । स्थानीय सरकारलाई प्रत्यक्ष जनतासँग शिक्षाको माध्यमबाट पनि जोड्ने गर्छ । त्यसका लागि हामीले नैतिकतामा आधारित शिक्षालाई ध्यानमा राखेर काम गरेका छौं । जसले ब्यावहारिक शिक्षालाई प्राथमिकतामा राख्छ । सोही प्रक्रियाले हामीले शिक्षाका कार्यक्रम निर्माण र कार्यान्वयनमा जोड दिएका छौं ।
बबईमा एउटा १५ शैøयाको अस्पताल निर्माणको चरणमा छ, अर्को हापुरे प्राथमिक अस्पताल पनि छ, यी दुई संस्थाबाहेक अन्य स्वास्थ्य संस्था पनि छन् यसको ब्यवस्थापन कसरी भइरहेको छ ?
बबई गाउँपालिकाको हंसपुरमा १५ शैøयाको अस्पताल निर्माणको अवस्थामा रहेको छ । अस्पतालका लागि आवश्यक पर्ने पहिलो चरणमा भवन निर्माणको प्रक्रिया जारी छ । यसका लागि हामीले संघीय सरकारसँग समन्वय गरेर निर्माणको कार्यलाई जारी राखेका छौं । हापुरेमा हापुरे प्राथमिक अस्पताल निर्माण गरेका छांै । जहाँबाट हामीले मेडिकल अधिकृतमार्फत स्वास्थ्य सेवा प्रवाह गरिरहेका छौं । जनतासँग प्रत्यक्ष जोडिएको स्वास्थ्य सेवालाई ध्यानमा राखेर अन्य वडामा पनि स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य इकाई केन्द्र सञ्चालनमा रहेका छन् । ती स्वास्थ्य संस्थाहरुमा औषधिको कमी हुन नदिन स्वास्थ्य शाखामार्फत नियमितरुपमा कामहरु भइरहेका छन् ।
हापुरे प्राथमिक अस्पतालमा जोडिएका सामग्रीहरु विद्युतको समस्याले सञ्चालनमा समस्या देखिएको छ । अस्पतालका प्रमुख स्वास्थ्य समस्याले बिदामा बसेका कारण त्यसको समाधान गर्न सकिएको छैन । उहाँ आउनुभएपछि त्यसको समाधान गर्ने योजना छ । विद्युत जडानमा पूर्ववर्ती सरकारले विद्युत प्राधिकरण तुलसीपुरसँग भएको केही समस्याले विद्युत जडान हुन सकेको छैन । जसले गर्दा एक्सरे सेवा दिन सकेका छैनौं । यसको पनि केही दिनमा समाधान गर्ने गरी योजना बनाएका छौं ।
तपाइँको कार्यकालमा के त्यस्ता महत्वपूर्ण काम हुन्छन् ?
हामीले पाँचवटा विषयलाई ध्यानमा राखेर काम गर्ने योजना बनाएका छौं । पहिलो योजना भनेको हापुरे, गंगटे हुँदै बाँकेको नेपालगञ्जसँग जोड्ने सडक र हापुरे हुँदै सल्यानको अखेला जोडेर कर्णाली प्रदेशसँग जोड्ने सडक निर्माण गर्ने । दोस्रो पुरन्धारा झरना र धागे छहराको विकास गरेर पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने । जसले आन्तरिक र बाह्य पर्यटकको आकर्षण गर्न सहज हुनेछ । तेस्रो, यसअघि निर्माण शुरु गरिएको मनमोहन चक्रपथलाई पूरा गर्ने योजना बनाएका छौं । चौथो सल्लीकोटमा निर्माणको चरणमा रहेको भ्यू–टावरलाई पनि निर्माण सम्पन्न गर्ने योजना बनाएका छौं । समग्रमा हामीले सल्यान, बाँकेलाई हापुरेसँग जोड्ने गरी सडक निर्माण गरेर पुरन्धारा झरना, धागे छहराको विकास गरी सल्लीकोटमा भ्यू–टावर निर्माण गरेर बबई गाउँपालिकामा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षणको केन्द्र बनाउने लक्ष्य राखेका छौं । हाम्रो कार्यकालमा यही चार विषयलाई ध्यानमा राखेर काम गर्नेछौं ।



