तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं -६ स्थित कालोखोला उकालोमा घर नजिकै डाँडोमाथिबाट जेसिबीले सडक खनिरहेको दुष्य नियाली रहेकी थिइन ६० बर्षीया शारदा रावत । शुक्रबार चार वटा जेसिबी, त्यतिकै संख्या टिपर, टेक्याटर, एउटा ग्रेडर धमाधम सडकको काम गरिरहेका थिए । धमाधम सडकको काम भइरहेको देखेर अब छिट्टै अलपत्र चारलेन सडक खण्डको काम हुन्छ कि भन्ने उनको मनमा रहेछ ।
तर, उनलाई सडकमा काम गरि रहेका ब्यक्तिहरु सडक निर्माणको जिम्मा लिएका ब्यक्तिहरु होइनन् भन्ने थाहाँ पटक्कै छैन । शुक्रबार मात्रै दुई जना महिला स्कुटरबाट लडेको उनले देखिन । सडकको अवस्था यति नाजुक छ कि यस्ता दुर्घटना पछि धेरै रगताम्मे भएर गएको उनले देख्दै आएकी छन् ।

शारदा सल्यानबाट दश बर्ष पहिले बसाइसरी यहाँ आउँदा सडक गजब थियो । उनले भनिन् ‘ मैले देख्दा देख्दै आज त यो सडक खत्तम भइ सक्यो ।’ उनको घर नजकिकै सडक पर्छ । सडक बाट उड्ने धुलोले उनी र उनको परिवार आजित छ । भनिन् ‘ ठाउँ नै छोडेर फेरि सल्यान नै फर्किम कि जस्तो लाग्छ ।’
तुलसीपुर – ६ मोतिपुरका रोशन आचार्यपनि शुक्रबार सडकमै आएका थिए । सडक मर्मतको काम जो धमाधम भइरहेको थियो । स्थानीय उत्साहित नहुने कुरै थिएन । धेरै समय कालपछि भताभुंङ्ग सडकमा उनले यतिधेरै उपकरणले एकैसाथ यसरी काम गरेको देखेका थिए ।
उनले भने चाल पाएका रहेछन् – ‘यो काम तुलसीपुरकै युवाहरुले मिलेर गरिरहेका छन् र यो निकै प्रसंशा योग्य काम हो ।’ राष्ट्रिय गौरवको योजना हुँदाहुँदैपनि सडकको नाजुक अवस्था देखेर युवाले आफ्नै लागानी खाल्डा खुल्डी पर्ने र मर्मत गर्ने कार्य देशकै लागि श्रमको अवस्था मान्न पर्ने उनले तर्क गरे ।
युवाहरुको जागरुकता देखेर आँफु निकै खुसी भएको तथा सम्बन्धित निकायले यो तथ्य बुझेर जति हुन्छ चाँडो काम पुरा गर्न लाग्नु पर्ने उनले तथ्य कुरा बोले । तुलसीपुर उपमहानगरपालिकाका इञ्जिनियर पवनकुमार योगी, तुलसीपुरका प्रतिष्ठित ब्यबसायी बिमल रिजाल, बिनिल केसी निर्माण ब्यबसायी कृष्णबहादुर खड्का, शिब बुढाथोकी, संजात धिताल, द्रोण देवकोटा, टोपेन्द्र डाँगी, प्रकाश महतरा, शरदकुमार योगी, टिप्पर धनीहरु जनक मल्ल लगाएतका चिरपरिचित नहुहार सडकमा खटिएर काम गरिरहेका थिए ।
उनीहरु मध्य कोही ट्राफिक ब्यबस्थापनको काम गरिरहेका देखिन्थे भने कोही वालुवा गिट्टी कहाँ झार्ने, ट्याँङकरको पानी कता राख्ने भनेर निर्देशन दिइरहेका थिए। बालुवा गिट्टी कहाँबाट र कति मात्रामा निकाल्ने भनेर कोही दिनभर खोलामा खटिएका थिए । उनीहरु मध्य जो जहाँ छन् त्यही खाना खाजा खाए । खोलामा भएकाले बगरै बसेर र सडकमा भएकाहरु सडकमै उभिएर प्याकिङ फूड खाएको इञ्जिनियर योगीले बताए । उनीहरु मध्य अधिकाँसले लगाएको सेतो टिसर्टमा ‘युवाहरुको सक्रिय सहभागिता, दूर्घटना न्यूनिकरण, सडक मर्मतमा अग्रता’ लेखिएको छ ।
यो सबै नियाली रहेका तुलसीपुर – ६ का युवा नविन न्यौंपाने पनि सडकमै आएर उनीहरुलाई ढाडस दिइरहेका थिए । जो बर्षौंदेखि सडका खाल्डा खुल्डीका कारण स्थानीयले दुःख पाउँदै आएको देख्ने भोग्ने मध्यका एक थिए । तुलसीपरका युवा ब्यबसायीले आँफैले मिलेर आफ्नै खर्चमा सडकका खाल्डा खुल्डी पर्नु निकै सर्हानिय कार्य भएको भन्दै उनले खुसी साटे ।
‘सडक निर्माणको जिम्मा लिएको पक्ष र राज्यले गर्नुपर्ने काम युवाहरुले मिलेर गरेपनि सर्वसाधारणले त्यसबाट ठूलो राहात महसुश गरेको छन्,’ उनले भने ‘ राज्य कहाँ छ भन्ने प्रश्न यहाँ नेर खडा भएको स्पष्ट हुन्छ ।’
राजु शर्मा बस चालक हुन । तुलसीपुर–घोराही सडक खण्डमा दश बर्षदेखि सार्वजनिक बस चलाउँदै आएका छन् । तुलसीपुरको हात्तीखौवा चोकदेखि मर्मतको काम भएपछि सडक राम्रो बनेको उनले प्रतिक्रिया दिए ।

चारलेन परियोजनाले सडक नभत्काउँदासम्म ४० मिनेटमा पुरा हुने यात्रा आज डेढ घन्टा लाग्ने गरेको भन्दै उनले खिन्नता ब्यक्त गरे । ‘पहिले यो सडक खण्डमा गाडी चलाउन सहज थियो र आज उत्तिकै जोखिम बढेको छ,’ उनले भने ‘ बेलुका जिउज्यान दुखेर हैरान हुन्छ ।’ इन्धनको दोब्बर खपत बढेको , तुटफूट उत्तिकै बढेको हुँदा साहु भुट्टिने अवस्था आएको उनले बताए ।
अस्थिर सरकार र लापरबाहीका कारण सडक नबनेको उनले बताए । खाल्डा खुल्डी जोगाउन खोज्दा खोज्दैपनि संभव नहुने र खाल्डामा परेपछि यात्रुले गाली गर्ने गरेको उनले बताए । तुलसीपुर तर्फबाट फेरि सडक बनाउने काम सुरु भएको भन्दै उनले त्यसले सबै भन्दा धेरै राहात महसुश आँफुहरु जस्ता चालकले गर्न पाएको बताए ।
तुलसीपुर – १२ टरिगाउँका बिष्णु भण्डारी मोटरसाइकलमा थिए । तुलसीपुर– घोराही सडक खण्डमा साना सवारी साधन र मोटरसाइकलमा यात्रा गर्न निकै सास्ति खेप्नु परिरहेको उनले अनुभूती साटे । उनले मोटरसाइकलमा यात्रा गर्ने मान्छे धुलोले नचिन्ने हुनुपर्ने र हुदा रेनकोट लगाएर यात्रा गर्नुपर्ने अवस्था रहेको बताए ।
युवाहरु किन सडक मर्मतमा जुटे ?
तुलसीपुर–घोराही सडक खण्ड बर्षौंदेखि ठूलो भूँइचालो पछिको भग्नाबशेष जस्तै भताभुङ्ग अवस्थामा छ । सर्वसाधारणका लागि यात्रा निकै कष्टकर बन्दै गइरहेको थियो । दुर्घटना दिनानुदिन बढ्दै जान थाले ।
त्यो सबै नजिक बाट नियाली रहेका थिए तुलसीपुर उपमहानगरपालिका इञ्जिनियर पवनकुमार योगी । उनले केही मिल्ने साथीहरु संग सरसल्लाह गरे । ‘तुलसीपुर–घोराही खाडल मर्मत अभियान’ संचालन गर्ने आफ्नो योजना सुनाए ।
इञ्जिनियर योगीको योजना नराम्रो थिएन । त्यो समाज हितको पक्षमा थियो । त्यसैले सबैले मन पराए । अभियानमा हातेमालो गर्ने वचन दिए । काम थाल्नु अगाडि सबै मिलेर उपमहानगरपालिकामा पायक पर्ने खोलाबाट बालुवा गिट्टी निकाल्नका लागि अनुमतिका लागि निबेदन पेश गरे ।
यो ब्यक्तिगत रुपमा आर्जनका लागि भएको काम थिएन । मेयर टीकाराम खड्काले सहजै स्वीकार गरे । उपमहानगरपालिकाले प्रारम्भिक वातावरणिय मुल्यांकन भइसकेका स्थानहरुबाट ग्राभेल निकाल्न अनुमति दियो । त्यसको लगतै उनीहरुले काम सुरु गरे । अभियान बिहीबार बिहानदेखि सुरु भएको हो । इञ्जिनियर योगीका अनुसार यति काम गर्दा दैनिक सवा एक लाखसम्म खर्च हुने गरेको जानकारी दिए । तुलसीपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजालले इञ्जिनियर योगीको अभियान मनपरेर साथ दिएको बताए ।
लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्ने युवा साथीहरु मिलेर काम गर्न पाउँदा रमाइलो अनुभूति भइरहेको उनले तर्क गरे । साथै आफ्नो जिम्मेवारी समयमै पुरा नगर्ने निर्माण ब्यबसायी र मुकदर्शक सरकारका लागि आँफुहरुको अभियान एउटा खबरदारी ठान्न उनले आग्रह गरे ।
वाणिज्य संघका महासचिव विनिल केसीले सडकको काम गर्न मिलेर डिजल बैंक स्थापना गरिएको जानकारी दिए । साढे चार सय लिटर डिजल एकै दिनमा संकलन भएको उनले बताए ।



