कुमार श्रे ष्ठ ,
बाँके । नेपालगञ्जको एक होटलमा बसेर सादव हल्वाई (आषिक कादरी) ले नक्कली नोट छपाइ गरेको फेला परेको छ ।
धम्बोझीस्थित पाहुना घरको ३०७ नम्बर कोठामा बसेका सादवबाट नक्कली नोट प्रिन्ट गर्ने प्रिन्टर, ५० को नोट चार÷चारवटा चप्काएको ३५ थान पेपर, इन्चीटेप, चक्कु बरामद भएको बाँके प्रहरी प्रमुख एसपी सन्तोष राठौरले जानकारी दिनुभयो । नक्कली नोट छाप्ने व्यक्तिको परिचयपत्रमा सादव हल्वाई नाम र नेपालगञ्ज–३ ठेगाना उल्लेख छ । होटलमा भने उनले आषिक कादरी नाम लेखाएका छन् । पुस २९ गतेदेखि ती व्यक्ति होटलमा बसेका थिए । होटल सञ्चालकका अनुसार ३० गतेसम्म बाहिर जाने र आउने गरिरहेका थिए । त्यसपछि उनी देखिएनन् ।
दुई दिनसम्म कोठामा बसेको मान्छे नदेखिएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेको एसपी राठौरले बताउनुभयो । प्रहरी गएर कोठामा खानतलासी गर्दा नक्कली नोटसहित नक्कली नोट प्रिन्ट गर्ने प्रिन्टरलगायत सामान बरामद भएको थियो । होटलमा बस्ने र राम्रो फोटोकपी पेपरमा रंगीन प्रिन्टबाट नक्कली नोट प्रिन्ट गरेर बजार पठाउने गरेको आँकलन गरिएको छ । अहिले उनले नेपाली ५० रुपैयाँको नोट मात्रै प्रिन्ट गरेका थिए । बाँके प्रहरीले सादवको खोजी गरिरहेको छ । सादव पक्राउ परेपछि उनले अहिलेसम्म कति नक्कली नोट छापेर बजारमा पठाए खुल्ने प्रहरीको भनाइ छ ।
नेपालगञ्ज सीमावर्ती शहर भएकाले यहाँबाट नक्कली भारतीय रुपैयाँ पनि छापेर कारोबार गर्ने चुनौती रहने गर्दछ । खुला र चलनचल्तीको नाकामा आपराधिक क्रियाकलाप बढी हुने सम्बद्धहरु बताउँछन् । यसैबीच, बाँके प्रहरीले भारतबाट अवैधरुपमा भिœयाइएको एक क्वीन्टल चिनी र ९० थान कुर्ता सुरुवाल बरामद गरेको छ । इलाका प्रहरी कार्यालय जयसपुरले बरामद गरेको चिनी र कुर्ता सुरुवाल भन्सार कार्यालय पठाइएको छ । बरामद सामानको मूल्य ८० हजार कायम गरिएको छ । नयाँ युगबोधबाट



