सल्यान । सल्यानमा कात्तिके महको अभाव भएको छ । चरन क्षेत्रको अभाव, असोज महिनामा निरन्तर एक साता पानी पर्नु, बालीनालीमा विषादीको प्रयोग हुनु, जलवायु परिवर्तनको प्रभावलगायतका कारण जिल्लामा महको उत्पादन कम हुँदा अभाव भएको हो । विगतका वर्षको तुलनामा कम मह उत्पादन हुँदा मूल्य बढेको छ भने महको अभाव समेत रहेको छ ।
कात्तिके महमा औषधीय गुण हुने भएकाले पनि कात्तिके महको माग धेरै हुने गरेको कृषकहरु बताउँछन् । तर यसवर्ष उत्पादन घट्दा महको अभाव भएको कृषकहरुको भनाइ छ । महको माग धेरै भए पनि मागअनुसारको उत्पादन नहुँदा समस्या भएको छ । गत वर्षसम्म प्रतिकिलो एक हजार देखि एक हजार दुई सयसम्म बिक्री भएको मह यसवर्ष एक हजार पाँच सयसम्म बिक्री भएको छ । महको मूल्य बढेपनि माग अनुसारको उत्पादन नहुँदा अहिले कात्तिके महको अभाव भएको कालीमाटी गाउँपालिकाका मह उत्पादक कृषक नेत्र वलीले जानकारी दिनुभयो । चरन क्षेत्रको अभाव हुँदै जानु र असोजमा एकसातासम्म लगातार वर्षा हुँदा मह उत्पादनमा निकै कमी आएको उहाँको भनाइ छ । ‘चिउरी फुल्ने समयमा लगातार वर्षा हुँदा फूलको रस पानीले बगाएकाले यस वर्ष महको उत्पादनमा निकै कमी आएको छ’– उहाँले भन्नुभयो ।
‘महको माग धेरै छ, विगतका वर्षहरुमा मह धेरै उत्पादन हुन्थ्यो, सस्तो मूल्यमा बेच्नुपर्ने बाध्यता थियो, तर यस वर्ष मह कम उत्पादन भएको छ, महले मूल्य पनि राम्रो पाएको छ, तर माग अनुसारको पु¥याउन सकेका छैनौं’– उहाँले भन्नुभयो । गत वर्ष दुई क्वीन्टल मह उत्पादन भएकोमा यो वर्ष चार÷पाँच किलो मह उत्पादन गर्न पनि नसकिएको उहाँको भनाइ छ । उहाँले गतवर्ष मह र मौरीका गोला बिक्री गरेर आठ लाख रुपैयाँ आम्दानी गर्नुभएको थियो । करिब एक सय घारमा मौरीपालन गरिरहनुभएका कुमाख गाउँपालिकाका नारायण ओलीले फूल फुल्ने समयमा अत्यधिक वर्षा हुँदा यस वर्ष कात्तिके मह सोचेअनुसार उत्पादन गर्न नसकेको बताउनुभयो।
गत वर्ष झन्डै साढे चार क्वीन्टल मह उत्पादन गर्नुभएका उहाँले यो वर्ष मुस्किलले दुई क्वीन्टल मात्र उत्पादन भएको बताउनुभयो । महको माग बढ्दै गए पनि उत्पादन घट्दै जाँदा समस्या भएको उहाँको भनाइ छ । यस्तै त्रिवेणी गाउँपालिकाका दीप बहादुर बुढाले यो वर्ष मह उत्पादन नभएको बताउनुभयो । गत वर्ष एक सय ५० किलो मह उत्पादन गर्नु भएका बुढाले यो वर्ष भने अरिंगालले मौरी खाइदिदा समस्या भएको बताउनुभयो । ‘मसँग सय बढी मौरीका घार थिए तर अरिंगालले सबै मौरी खाइदिदा यो वर्ष मह भन्दा पनि मौरी बचाउन गाह्रो भयो’– उहाँले भन्नुभयो ।
केही वर्षयता जिल्लामा मौरीपालन गर्ने कृषकको संख्या बढिरहेको छ तर उत्पादन घट्दै गइरहेकाले उनीहरू निराश बनेका छन् । कृषि विकास कार्यालयका अनुसार जिल्लाभरि करिब चार सय कृषकले व्यावसायिक मौरीपालन गरिरहेका छन् । जिल्लाको कालीमाटी, कुमाख, त्रिवेणीलगायतका पालिकामा झन्डै एक हजार हेक्टरमा मौरीपालन भइरहेको छ । गत वर्ष जिल्लाभर १५ मेट्रिक टन मह उत्पादन भएको थियो । यस वर्षको तथ्यांक भने संकलन भइरहेको कार्यालयले जनाएको छ । कार्यालयका निमित्त प्रमुख भरत बस्नेतले यो वर्ष उत्पादन भएको महको तथ्यांक संकलन भइरहे पनि गत वर्षभन्दा करिब ३० प्रतिशतले उत्पादन घट्ने अनुमान गरिएको बताउनुभयो । मौरीपालनमा सबैभन्दा बढी चरनकै समस्या रहेको उहाँको भनाइ छ । कम लगानीबाट पनि धेरै आम्दानी हुने भएपछि मौरीपालन तर्फ हौसिएका यहाँका कृषकहरु वर्षेनि मह उत्पादन घटेपछि चिन्तित बनेका छन् ।



