सल्यान । सल्यानको श्रीनगरस्थित पुरानो बसपार्क क्षेत्रमा निर्माण गरिएका अस्थायी घर टहरा हटाउन शारदा नगरपालिकाले दिएको अल्टिमेटम सकिन तीन दिन मात्रै बाँकी छ ।

जिल्लाकै प्रमुख व्यापारिक केन्द्र शारदा नगरपालिका–१ श्रीनगरमा रहेको पुरानो बसपार्कलाई व्यवस्थित र आधुनिक बसपार्क निर्माण गर्न बसपार्क क्षेत्रमा ऐलानी जग्गामा बनाइएका घर टहरा हटाउन नगरपालिकाले गत मंसिर २६ गते सूचना जारी गर्दै ३५ दिने अल्टिमेटम दिएको थियो ।

तर अल्टिमेटम सकिन तीन दिनमात्रै बाँकी रहँदा पनि ऐलानी जग्गामा भएका घर टहरा हटाउन स्थानीयले आनाकारी गरेका छन् । बसपार्क क्षेत्रमा निर्माण भएका ग्यारेजहरु रेशमजिउलामा सार्न थाले पनि स्थानीयले भने घरटहरा हटाउन आनाकानी गरेका छन् । यस क्षेत्रको ऐलानी जग्गामा ८३ वटा अस्थायी घरटहरा बनाइएका छन् । नगरपालिकाका अनुसार घर जग्गा नभएका वास्तविक सुकुम्वासी तीन परिवार मात्रै छन् ।

बसपार्क क्षेत्रमा बस्दै आउनुभएकी सिउकली परियारले नगरपालिकाले घर खाली गर्न अल्टिमेटम दिएपछि आफु समस्यामा परेको बताउनुभयो । ‘मेरो सम्पत्ति केही छैन । पुरानो बसोबास सिद्धकुमाख हो । त्यहाँ केही नभएपछि वर्षौंदेखि अर्काको घरमा बस्दै आएकी छु । एउटा छोरो जेलमा छ । अर्को अपांग छ । घरमा खाने केही छैन’– खिइएका हातका औंला देखाउँदै उहाँले भन्नुभयो– ‘दिनभर बालुवा चालेर छाक टार्ने गर्छु ।’ उहाँले अबको बास त्रिपालमा हुने बताउनुभयो । ‘नगरपालिकाले राम्रो बसपार्क बनाउने हो रे, मेरो त अब यहाँ बसाइ नहुने भो, कमाइ गर्ने कोही छैनन्, छोरो अपांग छ, बालुवा चालेर खाने जुटाउँछु, साँझ के खाने भन्ने चिन्ता छ’– उहाँले भन्नुभयो– ‘खाने जुटाउन त मलाई धौ–धौ छ, कोठा भाडा तिरेर म बस्न सक्दिनँ, नगरपालिकाले घर भत्काइदियो भने कहाँ बस्ने हो, ठेगान नै छैन ।’

अर्की स्थानीय लक्ष्मी गिरीले नगरपालिकाले घर भत्काइदिए आफ्नो पनि उठिबास लाग्ने बताउनुभयो । ‘ऋण बढी भएर सासु ससुरा र श्रीमानले सबै जग्गा बेचे, पैसा कमाउन भनेर कालापार गएका श्रीमान् १० वर्षदेखि सम्पर्कमा छैनन् । बसपार्कमा घर बनाएर परिवार पाल्दै आएकी छु’– उहाँले भन्नुभयो– ‘अहिले साह्रै समस्या भयो, बस्दै आएको घर छोडेर अब कहाँ जाने होला ?’ नगरपालिकाले भने वास्तविक सुकुम्बासीको उचित व्यवस्थापन गर्ने, घरमुली नभएका, आर्थिकरुपमा विपन्न भएका परिवारलाई प्राथमिकता दिएर व्यवस्थापन गर्ने र अस्थायी घर टहरा हटाउने जनाएको छ । नगरप्रमुख प्रकाश भण्डारीले आधुनिक बसपार्क निर्माणका लागि बसपार्क क्षेत्रमा भएका अस्थायी टहरामा माघ २ गते डोजर चलाउने बताउनुभएको छ ।

‘घर टहरा हटाउन दिएको अल्टिमेटम सकिन थालेको छ, पटक–पटक आग्रह गर्दा पनि स्थानीयले घर टहरा हटाउन आनाकानी गरेका छन्, नगरले वास्तविक सुकुम्वासीको व्यवस्थापन गर्छ’– उहाँले भन्नुभयो– ‘स्थानीय आफैले घरटहरा खाली गरेर आधुनिक बसपार्क निर्माणमा सहयोग गरुन भन्ने हाम्रो चाहना हो, यदि स्थानीयले आनाकानी गरेको खण्डमा नगरपालिकाले अस्थायी घरटहरामा डोजर चलाउँछ ।’ उहाँले बसपार्क क्षेत्रमा निर्माण गरिएका सानाठूला सबै घरटहरामा भत्काइने बताउनुभयो । नगर प्रमुख भण्डारीले घरटहरा भत्काउने बित्तिकै बसपार्क निर्माणको थालनी गरिने बताउनुभयो ।

‘विगतमा बसपार्क निर्माणको बजेट तीनपटक फ्रिज भएको थियो, अहिले नगरपालिकाले आफ्नै स्रोतबाट एक करोड रुपैयाँ विनियोजन गरेको छ, यसबाट तत्काल सरसफाइ गर्ने, स्पेश निकाल्ने, सटरहरु निर्माण गर्ने काम गर्छौं’– उहाँले भन्नुभयो– ‘थप बजेटका लागि डिपिआरसहित प्रदेश र केन्द्र सरकारसँग माग गर्छौं ।’ शारदा नगरपालिकाले २०७६ सालमा नै पुरानो बसपार्कलाई हटाएर व्यवस्थित र आधुनिक बसपार्क बनाउने योजना अघि सारेको थियो । नयाँ युगबोधबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार