काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दीगो शान्ति, सुशासन, विकास र समृद्धिलाई साझा लक्ष्य बनाउनुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै देउवाले संघीय लोकतन्त्रिक गणतन्त्रात्मक व्यवस्थाबाट दीगो शान्ति, सुशासन, विकास र समृद्धिलाई साझा लक्ष्य बनाउनुपर्ने बताएका हुन् ।

उनले नयाँ संसदमा जनताले धेरै अपेक्षा गरेको भन्दै आगामी यात्रा स्पष्ट हुन जरुरी रहेको जिकिर गरे । सभापति देउवाले संविधानको रक्षा, संविधानको भावनाअनुरुप कार्यान्वयन गर्दे संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको सुदृढिकरण गर्नुपर्ने बताए ।

उनले संविधानको कार्यान्वयन गर्न धेरै नीति तथा कानुन निर्माण गर्न बाँकी रहेको धारणा पनि राखे । स्थानीय तह र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनदेखि कोरोनाबाट जनतालाई जोगाउने काममा आफ्नो सरकारले सफलता प्राप्त गरेको र गौरवको अनुभूति भइरहेको उनले बताए ।

देउवाले प्रधानमन्त्रीमा नियुक्त भएकोमा पुष्पकमल दाहाललाई बधाई दिँदै पाँच वर्षे कार्यकालमा जनताको हितमा काम गर्न सफल हुने कामना गरे ।

त्यस्तै देउवाले आफ्नो पार्टीलाई ठुलो दल बनाएकोमा मतदातालाई धन्यवाद दिँदै जनताको विश्वासमा ठेस लाग्न नदिने प्रतिवद्धता जनाए । उनले कांग्रेस रचनात्मक रुपमा प्रस्तुत हुने र जनताको मुद्दासँग जोडिरहने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार