तुलसीपुर । वर्षातको समयमा बाढीका कारण सवारीका साधन रोक्ने बबई गाउँपालिकाको राजीखहरे खोलामा पुल निर्माणका लागि प्रक्रिया शुरु भएको छ ।
दाङबाट सुर्खेत र सुर्खेतबाट दाङ आउने सवारी साधनलाई वर्षातको समयमा राजीखहरे खोलाले रोक्ने गरेको छ । हरेक वर्ष सवारी साधन रोक्ने र यात्रुले दुःख पाउने क्रम नरोकिएपछि उक्त खोलामा पुल निर्माण प्रक्रिया शुरु भएको हो । लुम्बिनी र कर्णाली प्रदेशलाई जोड्ने दोस्रो सडकका रुपमा रहेको सडकको राजीखहरेमा मात्रै पुल निर्माण हुन सकेको छैन ।
यही विषयलाई ध्यानमा राखेर प्रदेश र संघीय सरकारबाट यसका लागि पहिलो चरणमा डिपिआर शुरु गरिएको छ । सडक पूर्वाधार कार्यालय घोराहीले पुल निर्माणका लागि डिपिआर गर्ने प्रक्रिया शुरु गरेको छ । पञ्चायतकालदेखि निर्माण र सञ्चालनमा रहेको तुलसीपुर–सुर्खेत सडकखण्डको राजीखहरे खोलामा पुल निर्माण नहँुदा यात्रुलाई सास्ती हुँदै आएको थियो । साना गाडीले विकल्पका रुपमा अन्य स्थानीय सडक प्रयोग गर्ने भए पनि ठूला गाडीलाई समस्या हुने गरेको थियो ।
दुई प्रदेशका राजधानीलाई जोड्ने छोटो दूरीका रुपमा तुलसीपुर–सुर्खेत सडकलाई लिन सकिन्छ । यो सडक करिब पूर्णरुपमा सञ्चालनमा आएको छ । बबई गाउँपालिकाको राजीखहरे खोलामा पुल निर्माण हुन सकेमा बाह्रै महिना सडक सञ्चालनमा समस्या नहुने स्थानीयको भनाइ छ । बबई गाउँपालिका २, ३ र ५ को सिमानामा रहेको राजीखहरे खोलाले वर्षातको समयमा सवारीका साधन रोक्ने गरेको छ । विकल्पका रुपमा अन्य कृषि सडक स्तरीय नहुँदा यात्रुले दुःख पाउने गरेका छन् । राष्ट्रिय राजमार्गका रुपमा रहेको तुलसीपुर–सुर्खेत सडकखण्डमा सोही खोलामा मात्रै पुल निर्माण नहँुदा यात्रुलाई निकै दुःख हुने गरेको स्थानीय ताराबहादुर खत्रीले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा डिपिआर गरेर पुल निर्माणका लागि समेत चालु आर्थिक वर्षमै टेण्डर गर्ने तयारीमा सडक पूर्वाधार कार्यालय रहेको छ ।
सडक पूर्वाधार कार्यालयले पहिलो चरणमा डिपिआर निर्माण गर्न र पुल निर्माणका लागि टेण्डर गर्न १५ लाख रुपैयाँ बजेट प्राप्त गरेको छ । केही महिनामा डिपिआर सकेर टेण्डरका लागि प्रक्रिया शुरु गर्ने सडक पूर्वाधार कार्यालय दाङका प्रमुख मनिषकुमार अर्यालले जानकारी दिनुभयो । हरेक वर्ष वर्षातको समयमा यात्रुले दुःख पाउने जनगुनासो आएपछि कार्यालयले प्रक्रिया अघि बढाएको कार्यालय प्रमुख अर्यालले जानकारी दिनुभयो । केही वर्षमा वर्षातको समयमा यात्रुले दुःख पाउने विषय अन्त्य हुने प्रमुख अर्यालको भनाइ छ ।
राजीखहरे खोलामा पुल निर्माण नहुँदा पर्यटकीय क्षेत्र पुरन्धारा झरना जान समेत समस्या हुँदै आएको छ । वर्षातको समयमा नसके पनि अन्य समयमा स्थानीय सरकारले ह्युमपाइप राखेर खोला तर्ने ब्यवस्था गर्ने गरेको छ । पछिल्लो पटक बबई गाउँपालिकाले खोलामा कचवे निर्माण गरेको छ । वर्षातको समयमा बाढीले छेके पनि बाटो नबिगार्ने भएपछि कचवेले यात्रा गर्नलाई केही सहज बनाएको स्थानीयको भनाइ छ ।



