रमेश रेग्मी,

स्वदेशमा रोजगारीको अवसर नपाउँदा शिक्षित युवा जमात आज वैदेशिक रोजगारको जञ्जिरमा बाँधिन बाध्य छ । आज यो देशमा न त रोजगारीको लागि पर्याप्त अवसर नै सिर्जना हुन सकेको छ न त नागरिकले शान्ति, सुव्यवस्था र सुरक्षाको आभास गर्न नै पाएका छन्।

स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी शिक्षित युवालाई विदेश पलायन हुनबाट रोक्नु पर्ने समयमा आज नेपाल तिनै युवा वर्गको रेमिट्यान्सको भरमा चलिरहेको अवस्था छ ।

नेपालको अर्थतन्त्र तिनै बिदेसिएका युवा वर्गले थामिरहेको अवस्था छ । यसरी हेर्दा नेपालका नेतृत्वकर्ताहरुले जोस, जाँगर अनि ताकतको भण्डार युवा जमातलाई रेमिट्यान्सको फ्याक्ट्रीको रुपमा हेरिरहेको भान हुन्छ । अनि फेरि तिनै नीति निर्माणको तहमा रहेका नेतृत्वकर्ताहरु भन्छन्, ‘युवालाई बिदेसिनबाट रोक्नु पर्‍यो ।’ शैक्षिक रुपमा निकै माथिल्लो तहमा पुगेका युवा वर्गसमेत आज खाडी मुलुकमा अर्काको मातहतमा रही दासीसरह काम गरिरहेका छन्।

आखिर यो उनीहरुको बाध्यता हो । परिवर्तनको पथमा देशलाई दोहर्‍याउने एवम् सकारात्मक दिशाबोध गर्ने युवा जमात बिदेसिँदा आज गाउँघरहरु रित्ता भएका छन् । मलामी पाउन समेत कठिन परिस्थिति छ । आज नेपालको आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा जोस, जाँगरको अभाव छ । युवा वर्गको उपस्थिति नितान्त न्यून छ । जसले गर्दा समाजले सोचेअनुरुपले विकासको गति डोहोर्‍याउन सकेको छैन । त्यसैले सम्बन्धित निकायले एकपटक सोच्नै पर्ने बेला आएको छ ।

स्वदेशी स्रोत र साधनको उपयोग गरी बिदेसिएका सम्पूर्ण युवा जमातलाई स्वदेशी माटोमा नै रोजगारीको अवसर सिर्जना गर्न सम्बन्धित निकाय जुर्मुराउनै पर्ने बेला आएको छ । नेपाली युवा बिदेशिनुको प्रमुख जड भनेको बेरोजगारी नै हो । तसर्थ सरोकारवाला निकायले युवा शक्तिलाई स्वदेशमा नै परिचालन गरी स्थानीय स्रोत र साधनको सदुपयोग गर्दै रोजगारीको अवसर सिर्जना गर्नु जरुरी छ ।

विदेशिने क्रमलाई रोक्ने योजना बनाऔं

नेपालको राजनीतिक क्षेत्रमा देखिएको अस्थिरता गम्भीर समस्याको रुपमा रहेको छ । देश अन्तरिम संविधानकै भरमा चलिरहेको अवस्था छ । जसले गर्दा पनि नेपाली युवाले शैक्षिक डिग्रीको प्रमाणपत्र बोकेर पनि स्वदेशमा रोजगारको अवसर नपाउँदा अवसर खोज्दै विदेश पलायन हुनुपरेको छ । यो उनीहरुको चाहना नभई बाध्यता हो । वैदेशिक रोजगारप्रति नेपाली युवाहरुको बढ्दो माहोललाई रोक्न सर्वप्रथम त नीति निर्माण तहमा रहेका नेतृत्वकर्ताहरुले युवावर्गलाई समेत नेतृत्व तहमा समेट्ने किसिमको नीति अवलम्लन गर्नुपर्‍यो । स्वदेशी स्रोत र साधनको अधिकतमरुपमा सदुपयोग गर्दै कलकारखाना, उद्योग धन्दा लगायतको क्षेत्रमा सरकारका तर्फबाट गरिने लगानीमा समेत वृद्धि गर्न सके नेपाली युवा बिदेसिने क्रम न्यून हुने थियो ।

दक्ष जनशक्तिहरु विदेश पलायन हुनु आफैंमा राम्रो कुरो होइन । देशमा भएका दक्ष जनशक्तिहरु बिदेसिइरहँदा आम नेपाल र नेपालीलाई प्रत्यक्षरुपमा असर परिरहेको छ । यता वैदेशिक रोजगारमा जाने थोरै नेपालीले राम्रो ठाउँमा, राम्रो कम्पनीमा परेर आफ्नो मुहार फेरेका छन् भने प्रायः नेपालीहरु भने भनेको ठाउँमा, भने अनुसारको तलब नपाउँदा रित्तो हात फर्किन बाध्य हुनु परेको यथार्थ पनि यही समाजमा पाइन्छ ।

कतिपय नेपालीहरुको विदेशी भूमिमा निधन हुँदा उनीहरुको लास ल्याउन समेत असहज परिस्थिति भएको समेत समाचार प्रकाशन/प्रसारणमा आएका छन् । यस अर्थमा हेर्दा वैदेशिक रोजगारको सकारात्मक पाटो भन्दा नकारात्मक पाटोहरु धेरै छन् । एकातिर दक्ष जनशक्ति बिदेसिँदा नेपाली भूमिले सोचे अनुसारको प्रगति गर्न सकिरहेको छैन भने ती बिदेसिएका जनशक्तिहरुले पनि विदेशमा भने अनुसारको अवसर, तलब र काम नपाउँदा निकै कष्टकर जीवन व्यतित गर्नु परेको छ ।

यसर्थ नेपाली युवाको बिदेशिने क्रमलाई रोक्न सम्बन्धित सरोकारवाला निकायले ठोस योजना तर्जुमा गर्नु आजको आवश्यकता हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार