काठमाडौं । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले २७ पुससम्ममा सरकार गठनका लागि दाबी पेश गर्न दलहरूलाई आह्वान गर्नुभएकाे छ । लुम्बिनी प्रदेशमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेका कारण दुई वा दुुईभन्दा बढीहरू मिलेर बहुमत पुर्याइ दाबी पेश गर्न उनले बिहीबार आह्वान गर्नुभएकाे हाे ।
प्रदेश प्रमुखको कार्यालयबाट जारी सूचनामा भनिएको छ, ‘निर्वाचन परिणामबाट नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम लुम्बिनी प्रदेश सभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि मिति २७ पुस ०७९ बुधबार अपरान्ह ४ :०० बजेभित्र प्रदेशसभाका बहुमत सदस्यको हस्ताक्षरसहित दावी पेश गर्न आह्ववान् गर्नु भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि विज्ञप्ति प्रकाशन गरिएको छ ।’




