तुलसीपुर । कुनै समय बबई गाउँपालिका–५ पदमपुरका धनेश्वर सुवेदीको रक्सी नपिएर दैनिकी शुरु हुन्नथ्यो । कसैले कसैगरी रक्सी पिउन छोड भन्दा धनेश्वरलाई टाउकैमा हानेको जस्तो हुन्थ्यो । रक्सी पिउने लत बसेको बेलामा कसैले राम्रैगरी सम्झाए पनि फोकटमा किन बोलेको होला जस्तो लाग्ने गथ्र्यो धनेश्वरलाई ।
रक्सी खान घरमा रहेको चामल बेच्न पनि पछि नपरेका धनेश्वरले धेरै समयमा थोरै ज्यालाले काम गर्न पनि पछि परेनन् । जीवन संगिनी, छोराछोरी र आफन्तलाई दिनु दुख दिए । नराम्रोसँग कुलतमा फसेका धनेश्वरले घरमा भएका भाँडा, अन्न तथा लुकाएर राखेको रकम समेत चोरेर कति रक्सी पिए हिसाब छैन । धनेश्वरले रक्सी पिउने तर श्रीमती कमला सुवेदीले रक्सी पिउनेकी श्रीमती भनी माग्नुपर्ने । रक्सी बुवाले पिउने तर छोराछोरीले रक्सी पिउनेका छोराछोरी भनी माग्नुपर्ने । श्रीमान्को यस्तो हालत भएपछि जंगलका च्याउ बेचेर छोराछोरीले पढाइ खर्च चलाए । च्याउ बेचेर श्रीमतीले कति चाडपर्व मनाउन भ्याउनुभयो । तर धनेश्वरलाई यी कुराले खासै ध्यान तानेन ।
धनेश्वर सुवेदी २०७७ सालको चैतमा अलि बढी बिरामी पर्नुभयो । बिरामी भएपछि धनेश्वरलाई उपचारका लागि परिवारले तुलसीपुरको अञ्चल अस्पतालमा ल्यायो । त्यहाँ उपचार सम्भव नभएपछि तुलसीपुरकै निजी अस्पतालमा सुवेदीको उपचार भयो । नाक, कान र घाटीमा समस्या भएपछि तुलसीपुरको सिटी हस्पिटलमा सुवेदीको उपचार भयो । उपचारका क्रममा डा. सञ्जय महर्जनले भनेको शब्दले निकै घत लागेपछि धनेश्वरले रक्सी पिउने विषयलाई मनैबाट फाल्नुभयो । रक्सी पिउने भए फेरि उपचार गर्न नआउनु भनेपछि धनेश्वरलाई सपना देखे जस्तै भएपछि रक्सी पिउनै छोडे । अनि अहिले रक्सी पिएर दैनिकी शुरु हुँदैन धनेश्वरको । बिहानै उठेर घरायसी काम गरेर धनेश्वरको जीवन शुरु हुन्छ । अहिले धनेश्वरले घरमा कुखुरा, बाख्रा पाल्नुभएको छ । घरमै बसेर दैनिक रुपमा परिवारलाई सघाउने गर्नुहुन्छ । बिहानै उठेर घर आगन सफा गर्नुहुन्छ । कुखुरा र बाख्रालाई दानापानी गर्नुहुन्छ अनि बाख्राका लागि घाँस काट्ने तथा अन्य घरायसी काम गरेर दैनिक बित्ने गरेको छ ।
जीवनमा रक्सी पिएर २०÷२५ वर्षसम्म परिवार, समाज र गाउँलाई दिएको दुःखले अहिले धनेश्वरलाई पश्चाताप छ । रक्सी नपिएर निद्रा नपर्ने धनेश्वरलाई अहिले दिनभरिको मेहनतले रातमा राम्रै निद्रा लाग्ने गरेको छ । रक्सी नपिएर सबैलाई सुख दिएर धनेश्वरलाई मर्ने अन्तिम धोको छ । साभारः नयाँ युगबोध



