झापा बिर्तामोड १ का ४० वर्षिय निराकार पाण्डे ‘विपिन’ ले विदेशी भूमिमा गरेको बाध्यात्मक र कठोर मृत्युवरणले अहिले उनको घरपरिवारलाई मात्र नभएर यतिबेला सबैलाई विक्षिप्त बनाएको छ ।

भयानक आगलागी भइरहेको कम्बोडियाको एक क्यासिनोभित्र फसेका उनले अब नबाँच्ने ठानेर क्यासिनोको १२ तला माथिबाट हामफालेर मृत्युवरण गर्नुअघि घरपरिवारलाई दिएको मृत्युको सन्देश सुनेर भावुक र मर्माहत नहुने सायदै कोही होला ।

मृत्यु मानिसको बसभन्दा बाहिर हुन्छ । बुताभन्दा बाहिरको परिस्थितिमा मुस्कुराउँदै वा सुस्केरा हाल्दै मृत्यु स्वीकार गर्न विवश हुन्छ । त्यही विवशता बिर्तामोड नगरपालिका वडा नं १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेका माइला छोरा निराकार स्वीकार्न बाध्य बने । र त, उनले क्यासिनोको त्यति माथिबाट हामफालेर मृत्युलाई आत्मसात गरे ।

क्यासिनोमा आगलागी हुनेबित्तिकै बुधवार राति साढे ११ बजे उनले घरपरिवारलाई खबर गरेका थिए । आगो दन्किरहेको थियो , बाध्यात्मक मृत्युवरण गर्न विवश उनी आफ्ना बुवा अग्निप्रसाद पाण्डे , आमा लीलादेवी पाण्डे , श्रीमती शशीकला लोहनी , छोरा आर्मनसहित परिवारका प्रायः सबै सदस्यहरुलाई आफ्नो मृत्युको सन्देश सुनाइरहेका थिए । राति साढे ११ बजेदेखि बिहान ४ बजेसम्म दाजु निराकारले आफूबाहेक परिवारका सबै सदस्यसंग कुराकानी गरेको भाइ निश्चल पाण्डेले बताए ।

जीवन बचाउन संघर्ष गरिरहेका निराकारले क्यासिनोको १२ तलाको एउटा कोठाको बाहिरपट्टीको झ्यालमा बसेर घरमा भिडियो कल गरिरहेको उनको परिवारजनले कल्पना समेत गरेका थिएनन् ।

‘जब दाजुको कल उहाँकी श्रीमती (भाउजू) शशीकलाले रिसिभ गर्नुभयो, उहाँ बसेको ठाउँको चारैतिर धुँवैधुँवा उडिरहेको दृश्य थियो,’ निश्चलले भने, ‘दाजु अत्तालिएर रुँदै परिवारका सबै सदस्यहरूसँग पालैपालो कुराकानी गर्न थाल्नु भयो, उहाँको एउटै बोली थियो, अब म बाँ’च्दिनँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार